१६ फागुन, काठमाडौं
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन व्युँताउनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।
प्रधानमन्त्री मात्रै बन्ने लोभ र लालसा भएको भए एमालेसँगैको गठबन्धनमा पनि प्रचण्डलाई उक्त अवसर रहेको उनले उल्लेख गरे । ‘प्रधानमन्त्री मात्रै हुने लालसा भएको भए एमालेसँगको गठबन्धन छोड्नै पर्ने थिएन,’ थापाले काठमाडौं–४ मा आयोजित कार्यक्रममा मंगलबार भने, ‘यो गठबन्धनमा आउँदा माओवादीले धेरै कुरा पाएको होइन नि ।’
पुस १० मा पुरानो गठबन्धनमा राजनीतिक दुर्घटना भएको उनले बताए । दुई महिनापछि सबैले आत्मबोध गरेर पुरानै बाटोमा आएको थापाले बताए ।
संसद विघटनको बचाउमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलेपछि गठबन्धन जोगाउने जग तयार भएको थापाको दाबी छ ।
केन्द्रसँगै सातै प्रदेशमा आठ दलीय गठबन्धनको सरकार हुने उनले बताए । सरकारले काम गर्न नसके अरुलाई दोष दिने अवस्था नरहेको थापाले बताए । ‘अब काम गर्न सकेनौं भने कसैलाई दोष दिएर उम्कन पाउँदैनौं । काम, काम, काम र परिणाम दिनुपर्छ,’ थापाले भने ।



