चितवन, फागुन १६
चितवनको भरतपुरमा व्यवसायीक रुपमा सूर्यमुखी खेती गरिएको छ । तेलन बालीअन्तर्गत भरतपुर महानगरपालिका–१५ श्रीपुरमा सामूहिक रुपमा प्राङ्गारिक सूर्यमुखी खेती गरिएको हो । यहाँ अहिले हरेकदिन टिकटक बनाउने, फोटो खिच्ने र घुम्न आउने आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । जिल्लामा रहेका चार जना प्राङ्गारिक किसानहरुको अगुवाइमा पौने तीन बिघा जमिनमा सूर्यमुखी खेती गरिएको कृषक चन्द्रप्रसाद अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिए । उनका अनुसार कृषि ज्ञान केन्द्र चितवनसँग साढे चार बिघा जमिनमा तेलन बालीका लागि सहकार्य भएकोले पौने तीन बिघामा सूर्यमुखी र बाँकीमा तोरी खेती गरिएको छ । जसमा ज्ञान केन्द्रले बिउँ, मल र सिँचाइमा सहयोग गरेको उनले बताए । १० वर्ष पहिले पनि आफूले जिल्लामा सूर्यमुखी खेती गरेको र बिचका केही वर्ष खेती गर्न छाडे पनि यो वर्षबाट पुनः प्राङ्गारिक सूर्यमुखी खेती गरेको उनको भनाइ छ । उनी भन्छन्, ‘मैले २०३२ सालमा जिल्लामा ५० ग्राम गाजर खेतीबाट कृषि सुरु गरेको हो । चितवन पछिल्लो समय गाजर उत्पादनको व्यापक क्षेत्र पनि भयो । तर, हाल यसको उत्पादन धेरै हुँदा बजार मूल्य नपाउँने र लगानी पनि धेरै लाग्ने भएकोले मैले गाजरको विकल्प दिन सक्ने नगदे बालीको रुपमा तेलन बाली लगाएको हुँ ।’

कृषि ज्ञान केन्द्र चितवनकी कृषि अधिकृत सुरुची त्रिपाठीले चितवन र मकवानपुर गरेर दुई क्षेत्रमा १०० हेक्टर जमिनमा तेलन बालीका लागि केन्द्रले सहयोग गरेको जानकारी दिइन । उनले अरु क्षेत्रमा तेलन बालीअन्तर्गत तोरी खेती गरे पनि यहाँका किसान सूर्यमुखी खोतीमा इच्छुक भएकाले उनीहरुलाई केन्द्रले सहयोग गरेको जानकारी दिइन् । त्यस्तै यसरी यहाँका किसानले सूर्यमुखी खेती गर्दै जाँदा अन्य किसानलाई पनि प्रत्साहान मिल्ने उनको भनाइ छ । अहिले नेपालमा शुद्ध तेल नपाइने भएकोले यसरी अर्गानिक खेती गर्नले उपभोक्ता माझ शुद्ध तेल पुग्ने कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ ।




