नेपालको लयमा युएईले लगायो ब्रेक

images
  • 56
    SHARES
  • फाल्गुण १८, २०७९ बिहीबार
    नेपालको लयमा युएईले लगायो ब्रेक
    images

    १८ फागुन, काठमाडौं 

    ब्याटिङमा कमजोर प्रदर्शन गरेपछि आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग पराजित भएको छ ।

    दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा २०८ रनको लक्ष्य पछ्याएको नेपालले ३१.५  ओभरमा सबै विकेट गुमाएर १३९ अलआउट भयो ।

    युएईलाई जिताउन रोहन मुस्ताफाले अलराउण्ड प्रदर्शन गरे । ब्याटिङमा संयमित हुँदै अविजित ५२ रन बनाएका उनले बलिङमा ३ विकेट लिए ।

    युएईसँग पराजित भएपछि लिग टु को शीर्ष तीनमा रहेर विश्वकप छनोटमा पुग्ने नेपालको सम्भावना कठिन बनेको छ । अब नेपालले शीर्ष तीनमा पर्न बाँकी रहेको ६ वटै खेल जित्नुपर्नेछ ।

    घरेलु मैदानमा स्कटल्याण्ड र नामिबिया सम्मिलित शृंखला क्लिन स्वीप गरेर युएई पुगेको नेपालले त्यहाँ पहिलो खेलमा पपुवा न्यू गिनीलाई पनि हराएर लगातार पाँच खेल जितेर कीर्तिमान बनाएको थियो ।

    नेपालले यसअघिका पाँचै खेलमा टस जितेर पहिले बलिङ गर्दै लक्ष्य पछ्याएर जित निकालेको थियो । आजको खेलमा पनि नेपालले टस जितेर बलिङ नै गरेको थियो ।

    विपक्षीलाई २०७ रनमै रोके पनि नेपालले लक्ष्य पछ्याउने क्रममा ब्याटिङको लयलाई कायम राख्न सकेन । कुशल मल्लको ६० रनबाहेक बिहीबार नेपालको ब्याटिङ फ्लप नै रह्यो । कुशल बाहेक सन्दीप लामिछानेले (२६)  र आसिफ शेखले मात्र दोहोरो स्कोर (१७) गरे ।

    ब्याटिङमा गहिराई भएपनि युएईका स्पिनर सामु नेपालको ब्याटरले खुलेर खेल्न सकेनन् । लिग टु मा नेपालले युएईलाई पराजित गर्न सकेको छैन । लिग टु को तीन खेलमै नेपाल युएईसँग पराजित भएको छ । गत नोभेम्बरमा नेपालमै भएको ओडिआई शृखंलामा नेपालले युएईलाई २-१ ले जितेको थियो । तर त्यो प्रदर्शन युएई विरुद्ध दोहोर्‍याउन सकेन ।

    नेपालका लागि कुशल मल्लले अर्धशतक प्रहार गरेपनि अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । कुशलले ५३ बल खेल्दै ९ चौका र १ छक्का मद्दतमा सर्वाधिक ६० रन बनाए । ११औं नम्बरमा ब्याटिङ गरेका सन्दीप लामिछानेले २४ बल खेल्ख  ४ चौका मद्दतमा अविजित २६ रन बनाए । ओपनर आसिफ शेखले १७ रन जोडे । तीन खेलाडी खाता नखोली आउट भएको नेपाली इनिङ्समा बाँकीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    कप्तान रोहित पौडेल, ज्ञानेन्द्र मल्ल र आरिफ शेख शुन्यमै आउट भए । ओपनर कुशल भुर्तेल ५ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरी ७, गुल्क्कन झा र सोमपाल कामी समान ४ रनमा आउट भए ।

    नेपाललाई अलआउट गर्न युएईका अलराउण्डर रोहन मुस्ताफाले १० ओभरमा २ मेडन राख्दै ३१ रन खर्चेर ३ विकेट लिए । यस्तै अर्को स्पिनर कार्तिक मेइयाप्पन ८.५ ओभरमा १ मेडन राख्दै २६ रन खर्चेर ३ विकेट लिए । फास्ट बलर जुनैद सिद्दिकीले २ तथा सबिर अली र जहुर खानले समान १ विकेट लिए ।

    नेपालले टस जितेर फिल्डिङ रोजेपछि त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोली युएईले ५० ओभरमा ८  विकेट गुमाएर २०७ रन बनाएको थियो ।

    ओपनर आसिफ खान र रोहन मुस्ताफाको अर्धशतक मद्दतमा युएईले २०० रनको स्कोर पार गरेको थियो । युएईका लागि आसिफ खानले सर्वाधिक ७२ रन बनाए । रोहन मुस्ताफाले अविजित ५२ रन बनाए ।

    पहिलो ओभरमै ओपनर मुहम्मद वासिमलाई नेपालका करण केसीले बोल्ड गरेपछि आसिफ खानले एक छेउबाट इनिङ्सम सम्हालेका थिए । उनले दोस्रो विकेटका लागि भृत्य अरविन्दसँग ४६ रनको साझेदारी गरे । अरभिन्दले १८ रन जोडे ।

    नेपालका सन्दीप लामिछाने अरभिन्दलाई कुशल भुर्तेलबाट क्याचआउट गराए । श्याम ढकालको स्थानमा नेपाली टिममा समावेश भएका सन्दीप बुधबार युएई गएका थिए । उनी अघिल्लो खेलमा पपुवा न्यूगिनी विरुद्ध डेब्यु गरेका प्रतिश जिसीको स्थानमा प्लेइङ सेटमा खेलेका थिए ।

    यस्तै आसिफ खानले तेस्रो विकेटका लागि कप्तान सिपी रिजवानसँग  ४३ रनको साझेदारी गरे । २२ रन बनाएका कप्तान रिजवानलाई कुशल मल्लले दीपेन्द्र ऐरिबाट क्याचआउट गराए ।

    आसिफले ३७औं ओभरमा आउट हुनुअघि रोहन मुस्ताफासँग चौथो विकेटका लागि ५० रनको साझेदारी गरे ।

    आसिफ खानले ९९ बल खेल्दै ५ चौका र ३ छक्का मद्दतमा ७२ रन बनाए । उनलाई सन्दीपले करण केसीबाट क्याचआउट गराए ।

    त्यसपछि क्रसमा आएका आलिसान शाराफुलाई आसिफ शेखले बोल्ड गरे ।

    मुस्ताफा र आर्यल लाक्राले छैटौं विकेटका लागि ५८ रनको साझेदारी गर्दै युएईको स्कोर २०० पुर्‍याएका थिए । सन्दीपले ४९औं ओभरमा लाक्रालाई बोल्ड गर्दै साझेदारी तोडेका थिए । लाक्राले २८ रन बनाए ।

    मुस्ताफाले अन्तिमसम्म खेल्दै ७५ बल खेल्दै २ चौका मद्दतमा ५२ रन बनाए । अन्तिम ओभरमा युएईका दुई खेलाडी रनआउट भए ।

    ७ बलर प्रयोग गरेको नेपालका लागि सन्दीपले १० ओभर बलिङ गर्दै २७ रन  खर्चेर ३  विकेट लिए ।

    आरिफ शेखले ९ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए । कुशल मल्लले ५ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । यस्तै कर केसीले ७ ओभरमा १ मेडन राख्दै ४३ रन खर्चेर १ विकेट लिए ।

    दीपेन्द्र सिंह ऐरीले विकेट नलिएपनि १० ओभर बलिङ गर्दै १ मेडन राखेर ३५ रन मात्र खर्चिए । सोमपाल कामीले ७ ओभरमा १ मेडन राख्दै ३२ रन खर्चिए भने विकेट लिन सकेनन् ।

    अघिल्लो खेलमा उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका गुल्शन झाले भने २ ओभर बलिङ गर्दै १५ रन खर्चिए भने विकेट लिन सकेनन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend