कास्की – होली पर्वका अवसरमा पोखरा आएका विदेशी पर्यटकले पोखरेलीसँगै होलीमा रमाएका छन् । उनीहरूले एकआपसमा रङ दलेर शुभकामना साट्दै हाेली मनाएका हुन् ।
रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराकाे आयोजनामा आएका विदेशी पर्यटक रङसँग रमाए । होलीको अवसरमा लेकसाइडमा विशेष कार्यक्रम आयोजना हुँदै आएको छ । पोखरा महानगरपालिका–६ अम्बोटबाट नाचगान गर्दै र रङ दल्दै लेकसाइड परिक्रमा गर्दा विदेशी पर्यटक निकै रमाएका देखिन्थे ।

पहिलो पटक होलीमा सहभागि भएका कतिपय विदेशी पर्यटकले विशेष रुचिका साथ नेपालीसँगै रमाइलो गरेका थिए । रङकाे पर्व होलीमा रमाउन पाउँदा उनीहरूले खुसी व्यक्त गरे ।
आन्तरिक एवम् बाह्य पर्यटक प्रवर्धन गर्ने उद्देश्यका साथ पर्यटन व्यवसायीले होली महोत्सवको आयोजना गर्दै आएका छन् । होली विशेष कार्यक्रमले पर्यटकीय क्षेत्र लेकसाइडमा आउने पर्यटक रमाउने गरेका व्यवसायीहरू बताउँछन् ।
होलीमा पोखरामा कार्यक्रम हुन थालेपछि पोखरा पर्यटकको आकर्षणका साथै कार्यक्रम गर्ने स्थलका रूपमा समेत विकसित भएको कार्यक्रम संयोजक वीरेन्द्र शेरचनले बताउनुभयाे । पर्यटकको बढी चहलपहल हुने लेकसाइड क्षेत्र नै होलीको बेलामा आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।



