काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू प्रधानमन्त्री हुने बाटोतिर गइरहेको जस्तो आभास भइरहेको बताउनुभएको छ ।
शुक्रवारदेखि काठमाण्डाैमा सुरु भएको 'दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन–२०७९' लाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्ताे टिप्पणी गर्नुभएको हो । कार्यक्रममा अन्तिम वक्ता रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नआएपछि महामन्त्री थापा त्याे सम्मेलनको अन्तिम वक्ता हुनुभएको थियो । प्रधानमन्त्री नआउनुभएको हुनाले आज आफू अन्तिम वक्ता भएकाे र हिजो (फागुन २५) गते पनि पार्टीका सभापति शेरबहादुर देउवा नआएपछि आफूले अन्तिम वक्ताको रूपमा एक कार्यक्रमलाई सम्बोधन गर्ने अवसर पाएकाले आफू अब यथार्थमा प्रधानमन्त्री हुन लागेको हो कि भन्ने लागेको महामन्त्री थापाको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘आज प्रधानमन्त्रीजी अरू केही व्यवस्तताका कारण आउन पाउनुभएन । हिजो सभा गृहमा यस्तै कार्यक्रम थियो । मेरो पार्टी सभापति बस्ने कुर्सी त्यहाँनिर थियो । पार्टी सभापति आइपुग्नुभएन । त्यसपछि अन्तिम वक्ता म भएँ । आज प्रधानमन्त्री आइपुग्नुभएन । अन्तिम वक्ता म भएँ । सब्सिच्युट भइराख्या छु । त्यो रियल हुने बाटोतिर गएको हो कि भन्ने कुरा राख्न चाहन्छु ।’
महामन्त्री थापाले राजनीतिज्ञहरूलाई अर्थशास्त्रीय दृष्टिकोण बुझाउने काममा लाग्न पनि अर्थशास्त्रीहरूलाई आग्रह गर्नुभयो । महामन्त्री थापाले देशकाे अर्थतन्त्रबारे राजनीतिज्ञहरूलाई बुझाउनुको साटो अर्थशास्त्रीहरूले गाली गर्ने गरेको गुनासो पनि गर्नुभयो । उहाँले देशमा देखिएको आर्थिक सङ्कट समाधानका लागि अर्थशास्त्रीहरूले यथार्थमा आधारित भएर सुझाव दिनुपर्नेतर्फ पनि सचेत गराउनुभयो ।



