नवलपुर,चैत १
निर्माणाधीन नारायणगढ-बुटवल सडक अन्तर्गत कावासोतीको जंगलक्षेत्रमा कालोपत्र सुरु भएको छ । बुधबार कावासोती र लोकाहा बीचको जंगल क्षेत्रमा ५ सय मिटर पक्की सडक निर्माण भएको हो । हाल पक्की बनाइएको सडक साढे ७ मिटर फराकिलो छ ।
दोस्रो चरणमा (आगामी तीन साताभित्र) त्यसमाथि थप ४ सेन्टिमिटर बाक्लो पिच थपिने इन्जिनियर झा बताउँछन् । यसअघि ठेकेदार कम्पनीले हर्कपुरदेखि पूर्व भेडाबारीसम्मको क्षेत्रमा करिब एक किलोमिटर खण्ड परीक्षण पिच गरेको थियो ।
पूर्व पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बुटवल नारायणगढ सडक खण्डको एक सय १४ किलोमिटर सडक फराकिलो पार्न चिनियाँ ठेकेदार कम्पनीले १७ अर्ब रुपैयाँमा ठेक्का सकारेको हो । गत साउन २२ गते सडक निर्माण पुरै सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नु पर्ने सुरु सम्झौता थियो । त्यस अवधिमा सडक निर्माण जम्मा १९ प्रतिशतमात्र सम्पन्न भएका कारण सडक विस्तार गर्ने काम (समयावधि) एक वर्ष थपिएको छ । फागुन मसान्तसम्म सडक विस्तारको कार्य प्रगति २६ प्रतिशत मात्र छ । तस्विरः राजु सुवेदी



