४ चैत, हेटौंडा
नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा अस्थिरता निम्ताउने कामको अगुवाइ गरिरहेको आरोप लगाएका छन् ।
प्रेस चौतारी मकवानपुर शाखाले हेटौंडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रचण्डले देशभित्र र बाहिरका शक्ति केन्द्रको स्वार्थमा काम गरिरहेको टिप्पणी गरे ।
नेकपा एमालेसँग मिलेर माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपनि २ महिना बित्न नपाउँदै सहमतिलाई तोडेर प्रचण्डले अवसरवाद देखाएको विष्टले बताए । ‘यो अवसरवाद राष्ट्रको समृद्धि, जनताको जीवन रुपान्तरणको लागि नेपालको राजनीतिमा प्रगतिको कालो बादलको रुपमा देखापरेको छ’ उनले भने ।
सरकारले रासायनिक मलको अनुदान कटौती गरेर किसानलाई थप समस्यामा परेको बताए ।
‘कृषिजन्य उत्पादनमा बार्षिक ३ खर्ब भन्दा बढी नेपालले आयात गर्ने एउटा बिडम्बनापूर्ण अवस्था छ । त्यसलाई कम गरेर किसानहरुलाई सुविधा दिने, अनुदान दिने कृषि क्षेत्रमा थप रोजगारी सिर्जना गर्ने, आत्मनिर्भर बनाउने बिषय परै जाओस्, मल, बीऊलगायतका अत्यावश्यक वस्तुमा मुल्यवृद्धि गर्ने, उत्पादन लागत बढाएर देशलाई परनिर्भर बनाउने काम सरकारबाटै भइरहेको छ’, उनले भने ।



