काठमाण्डाै - विदेशी टोली जर्जियनलाई हराउँदै नेपाल पुलिस क्लब छैटाैँ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ ।
धनगढी रङ्गशालामा आज भएको खेलमा पुलिसले दार्जिलिङको जर्जियन एफसीलाई पेनाल्टी सुटआउटमा ३–० गोल अन्तरले पराजित गरेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको हो ।
पुलिसले सेमिफाइनल प्रवेशका लागि चैत १४ गते आयोजक सुदूरपश्चिम–११ सँग प्रतिस्पर्धा गर्नेछ । भोलि क्वाटरफाइनल अन्तर्गतको खेलमा फ्रेन्ड्स क्लब र थ्री स्टारबीच प्रतिस्पर्धा हुनेछ । मोफसलको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम-११ स्पोर्टस क्लबले आयोजना गरेको हो । आयोजकसहित 'ए' डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ । अस्ति बिहीवारदेखि सुरु भएको प्रतियोगिता आउँदो १८ गतेसम्म चल्ने छ ।



