५ लाखभन्दा बढीले श्रम स्वीकृति दश महिनामा वैदेशिक रोजगारीमा जान लिए

images
  • 280
    SHARES
  • जेठ ११, २०७९ बुधबार
    ५ लाखभन्दा बढीले श्रम स्वीकृति दश महिनामा वैदेशिक रोजगारीमा जान लिए
    images

    काठमाडौं  

     चालु आर्थिक वर्षको पहिलो दश महिनामा वैदेशिक रोजगारमा जान ५ लाख ५ हजार ४९० जनाले श्रम स्वीकृति लिएका छन् । २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा उनीहरुले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । 

    ddddss.jpg

    विभागका अनुसार गएको वैशाख महिनामा मात्र ४५ हजार ४ जनाले वैदेशिक रोजगारमा जान विभागबाट श्रम स्वीकृति लिएका छन् । विभागका अनुसार २०७८ साउनमा २५ हजार ४२८, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६७१, कात्तिकमा ५४ हजार ९१८, मंसिरमा ७४ हजार ३५४, पुसमा ६६ हजार ६२५, माघमा ५४ हजार ४७०, फागुनमा ५३ हजार ४५७, चैतमा ५५ हजार ५२३ र २०७९ वैशाखमा ४५ हजार ४ जनाले श्रम स्वीकृति लिएका छन् । 

    पछिल्ला दश महिनामा प्रत्येक महिना औषतमा ५० हजार ५४९ जनाले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कले देखाउँछ । यही शैलीमा जेठ र असार महिनामा पनि श्रम स्वीकृति लिनेको संख्या बढे चालु आर्थिक वर्षमा ६ लाखभन्दा बढीले श्रम स्वीकृति लिनेछन् । 

    कोरोना महामारी कारण पछिल्लो दुई वर्ष वैदेशिक रोजगारमा जानेको संख्या घटेको थियो, जसले गर्दा नेपाल भित्रने रेमिट्यान्समा समेत असर गरेको थियो ।  गत वर्षबाट कोरोनाको खोप प्रयोगमा आएपछि वैदेशिक रोजगारमा जानेको संख्या पुन बढ्न थालेको हो । 

    सन् २०१९ डिसेम्बर अन्तिम साताबाट कोरोना महामारी विश्वमा फैलन थालेपछि वैदेशिक रोजगारीमा जानेको संख्या क्रमसः घट्दै गएको थियो । कोरोना महामारी सुरु भएको वर्ष २०७६/७७ मा श्रम स्वीकृति लिनेको संख्या ३ लाख ६८ हजार ४३३ रहेको थियो । योभन्दा अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारमा जान ४ लाख ७६ हजार ७०५ जनाले श्रम स्वीकृति लिएका थिए । आर्थिक वर्ष २०७७/७८ मा यो संख्या १ लाख ६६ हजार ६९८ मा झरेको थियो । 

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend