चैत्र १३ गते देवघाट । लोक गित संगीतमा परिचित गायक पृथ्वी गुरूङको नयाँ मौलिक झ्याउरे गीत ‘भेट भयो रोधींमा’को भिडियो सार्वजनिक भएको छ। गोरखाको सिराञ्चोक–१ सिरचौर गाउँमा छायांकन गरिएको भिडियो ‘पृथ्वी गुरूङ अफिसियल’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
मनाङ गुरूङको निर्देशनमा रहेको सो गितमा आशिष गुरूङ, लक्ष्मी गुरूङ, सचिन गुरूङ र कुमारी गुरूङले अभिनय गरेका छन्। करन चैसिरले खिचेको भिडियोलाई मित्र डी गुरूङले सम्पादन गरेका छन्। भिडियोले गुरूङ गाउँमा प्रचलित रोधींको विषयवस्तुलाई मुख्य कथा बनाएको छ। चेपेखोलामा माछा मार्न जाने र गाउँघर तथा मेलापातमा भेट हुने प्रेमीप्रेमिकाको कथालाई रोधीं बस्दा हुने बार्तालापमा जोडेर गीत सिर्जना गरिएको छ।
निर्देशकले भिडियोलाई कथानक बनाउने प्रयास गरेका छन्। पृथ्वी गुरूङ र रेजिना परियारको आवाज रहेको गीत अनिता गुरूङ र चन्द्र परियारले शब्द कोरेका हुन् भने चन्द्र परियारले लय भरेका छन्। डोलराज बाह्रघरे मगरको संगीत संयोजनमा तयार भएको गीतको भिडियोमा सिरचौर गाउँसँगै गोरखा जिल्लालाई छोएर बग्ने दुई नदी दरौँदी र चेपेसमेत देखाइएको छ।

गायक पृथ्वी गुरूङ उनी झ्याउरे, सालैजो, कौडा लगायतका मौलिक गीतमा बढी भिजेका गायक हुन्। ‘चेपेको दोभान’, ‘सुनको औँठी’, ‘जादै छु के युके’, ‘मनकामना साक्षी राखेर’, ‘हेर न कान्छी’, ‘मानुङकोट डाँडैमा’, ‘हे ङोल्स्यो’, ‘आकाशैमा तारालाई जून’, ‘ङै माया क्योँलाई’लगायत दर्जन बढी मौलिक गीत लोकप्रिय छन्।



