राजावादीले अभिनन्दन गरेपछि ज्ञानेन्द्रले भने–अहिलेको प्रणालीले कुनै परिणाम दिँदैन

images
  • 181
    SHARES
  • चैत्र २०, २०७९ सोमबार
    राजावादीले अभिनन्दन गरेपछि ज्ञानेन्द्रले भने–अहिलेको प्रणालीले कुनै परिणाम दिँदैन
    images

    काठमाडौँ ।

    पूर्वराजा ज्ञानेन्द्र शाहले स्थिरता र स्थायित्व सही राज्यपद्धति बिना हुन नसक्ने बताएका छन् । सुनसरीको इनरुवामा राजावादीहरुले अभिनन्दन गरेपछि सम्बोधन गर्दै पूर्वराजाले  अहिलेको गणतान्त्रिक व्यवस्था कोरा र सतही भएको दाबी गर्दै आलटाल र टालटुलको प्रणालीले कुनै खदिलो परिणाम दिन नसक्ने जिकिर गरे । 
    ‘
    स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासन बिना हुन सक्दैन’, उनले भने, ‘कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभाएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ । परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदिलो परिणाम दिँदैन ।’

     

    राष्ट्र र राष्ट्रिय एकताको रक्षा गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै पूर्वराजाले  शान्ति, सुब्यवस्था र सुशासनका माध्यमबाट चौतर्फी विकासको बाटो लाग्नुपर्ने बताए । व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा अल्झिएर नभइ हामी र हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सकेमा देश बन्ने उनको धारणा छ । 

     

    उनले आफूलाई अभिनन्दन भाव प्रकट गरेकामा समर्थकहरुलाई धन्यवाद समेत ज्ञापन गरे । सो क्रममा राजावादीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend