मलकाे व्यवस्था मिलाउने काम सरकारकाे हातमा मात्रै छैन : मन्त्री भुसाल

images
  • 131
    SHARES
  • चैत्र २१, २०७९ मंगलबार
    मलकाे व्यवस्था मिलाउने काम सरकारकाे हातमा मात्रै छैन : मन्त्री भुसाल
    images

    फाइल तस्बिर

    काठमाण्डाै – कृषि तथा पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुसालले रासायनिक मलको आवश्यक व्यवस्था मिलाउने काम सरकारको हातमा मात्रै नरहेको बताउनुभएको छ । रासायनिक मलको अभाव रहेको तथ्य उल्लेख गर्दै उहाँले तर कहिले आयात हुन्छ भनेर भन्न सकिने अवस्था नरहेको प्रस्ट्याउनुभएकाे हाे । अन्य देशको यातायात व्यवस्था कतिको सहयोगी हुन्छ भन्ने कुराले यसलाई निर्धारण गर्ने भएकाले मलको आयात यति नै हुन्छ भनेर भन्न सक्ने अवस्था सरकार नरहेको मन्त्री भुसालको भनाइ थियो ।

    मङ्गलवार राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिने क्रममा उहाँले यस वर्षका लागि मलको आवश्यक व्यवस्था मिलाउन झन्डै ७५ प्रतिशत सम्झौता भइसके पनि त्यसलाई ल्याउने कुराको टुङ्गो नभएको पनि सदनलाई जानकारी गराउनुभयो । मन्त्री भुसालले रासायनिक मलको आवश्यक व्यवस्था मिलाउन तथा किसानलाई ऋण र अनुदान उपलब्ध गराउने काममा दुरुपयोग हुन नदिने विषयमा लिखित सुझाव दिन पनि सांसदहरूलाई आग्रह गर्नुभयो ।

    उहाँले भन्नु भयो, ‘यो वर्ष चाहिने अनुमानित मलकाे करिब–करिब ७५ प्रतिशतभन्दा बढी हिस्साको टेन्डर भइसकेको छ । केही भाग आउने क्रममा छ । केही चाहिँ छिट्टै आउन सक्ला भन्ने आशा गरिएको छ । यो चाहिँ हाम्रो हातमा मात्रै छैन । त्यस कारणले सक्ला भन्ने शब्द मैले प्रयोग गरेको हुँ । हामीले विदेशबाट ल्याउँछौँ । विदेशको यातायात व्यवस्थाले कस्तो काम गर्छ ? त्यहाँको व्यवस्थापन हाम्रा लागि कति सहयोगी हुन्छ भन्ने कुरामा पनि निर्भर गर्छ ।’

    मन्त्री भुसालले सरकारले किसानकाे समस्या समाधानका निम्ति सांसदहरूले दिएको सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिबद्धता पनि जनाउनुभयाे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend