महानगरको फोहर टेलिकमको कार्यालयमा

images
  • 55
    SHARES
  • चैत्र २१, २०७९ मंगलबार
    महानगरको फोहर टेलिकमको कार्यालयमा
    images

    तस्बिर : सामाजिक सञ्जाल

    पर्सा – फाइबर बिछ्याउँदा कालोपत्र सडक र फुटपाथ खनेर महिनौँदेखि अलपत्र छाडेको आरोप लगाउँदै वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमा रहेकाे नेपाल टेलिकम कार्यालय हाताभित्र फोहर थुपारेर विरोध जनाएको छ ।

    टेलिकमले कालोपत्र सडक र फुटपाथ खनेर सडक बिगार्दा नगरवासीले पीडा भोग्नु परेपछि निर्माणका लागि पटक–पटकको आग्रहलाई अटेर गरेकाले श्रीपुरमा रहेकाे टेलिकमको क्षेत्रीय कार्यालय परिसरमा महानगरले साङ्केतिक विरोधस्वरूप फोहर थुपारेको हो । वीरगञ्जमा सञ्चालन भइरहेको सरसफाइ तथा स्वच्छता अभियानमा टेलिकमले भाँजो हालेको भन्दै महानगरपालिकाका कर्मचारी र नगर प्रहरीसहितको टोलीले सात ट्र्याक्टर फोहर टेलिकमको परिसरभित्र लगेर फालेको जनाइएको छ ।

    टेलिकमले अप्टिकल फाइबार बिछ्याउने क्रममा बाइपास सडक खण्डको झन्डै पाँच किलोमिटर कालोपत्र सडक र फुटपाथ खनेर महिनौँदेखि अलपत्र छाडेको र पटक–पटक सडक मर्मत गर्न आग्रह गर्दा पनि अटेर गरेपछि बाध्य भएर टेलिकम परिसरमा फोहर फाल्नुपरेको महानगरका मेयर राजेशमान सिंहले बताउनुभयो । कार्यालयमै फोहर फालेपछि खनेर अलपत्र छाडिएका सडक र फुटपाथ मर्मतका लागि अब टेलिकमलाई दबाब पर्ने उहाँको भनाइ थियो ।

    गएकाे फागुन ३ गते प्रमुख जिल्ला अधिकारीकै उपस्थितिमा बसेको सरोकारवाला निकायको बैठकमा टेलिकमले खनिएका सडक र फुटपाथ फागुन मसान्तभित्रै मर्मत गरिसक्ने लिखित सहमति जनाएकाेमा अहिलेसम्म पनि सहमति कार्यान्वयन नगरेकाले यस्तो गरिएको मेयर सिंहले बताउनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend