काठमाण्डाै - नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश नामकरणको सम्बन्धमा पार्टी पहिचानकै पक्षमा उभिने निर्णय गरेको छ । बुधवार आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले कोशी प्रदेश नामकरणको सन्दर्भमा पार्टीबाट कमजोरी भएको स्वीकार गरेको हाे ।
पार्टी निर्णयबारे जानकारी दिनुहुँदै माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नामकरणको बेलामा पहिचानको पक्षमा अडान राख्न नसक्नु पार्टीको कमजोरी भएको बैठकको निष्कर्ष रहेको बताउनु भयो ।
उहाँले माओवादी केन्द्र पहिचानकै पक्षमा रहेको भन्दै प्रदेश कमिटीले पहिचानकै पक्षमा उभिएर कोशी प्रदेश नामकरणको सम्बन्धमा फरक मत राख्ने निर्णय भएको जानकारी दिनुभयो । त्यस्तै, आन्दोलनको क्रममा निधन भएकाहरुलाई शहीद घोषणा गर्न र राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको उहाँले बताउनु भयो ।
बैठकले मिटरब्याजी पीडितहरुको पक्षमा माओवादी केन्द्र पनि रहेको भन्दै सरकारले छानबिन गरेर समस्याको हल खोज्नुपर्ने निर्णय गरेको छ ।



