देबघाटमा श्री रामनाम लेखन जप स्तम्भ अनावरण तथा तीर्थस्थल निमाणार्थ सन्तहरुको भेला

images
  • 91
    SHARES
  • चैत्र २३, २०७९ बिहीबार
    देबघाटमा श्री रामनाम लेखन जप स्तम्भ अनावरण तथा तीर्थस्थल निमाणार्थ सन्तहरुको भेला
    images

    तनहुँ, २३ चैत

    नेपालको पवित्र तीर्थधाम देबघाट स्थित सितारामधाम बिहीवार एक समारोहका बीच श्री रामनाम लेखन स्तम्भ अनावरण गरिएको छ । हनुमान जन्मोत्सवको अवसरमा लेखनजप समूहका संयोजक लेखनाथ घिमिरेको नेतृत्वमा निर्माण सम्पन्न भएको लेखन जप स्तम्भको समुद्घाटन सम्पन्न भएको हो ।

    साथै सोही अवसरमा देबघाट धामलाई केन्द्र बिन्दु बनाइ नेपालका विभिन्न धार्मिक स्थलहरुमा श्रीरामनाम लेखन जप स्तम्भ निर्माण गर्ने महान अभियान सञ्चालनका लागि सन्तहरुका बीचमा छलफल समेत सम्पन्न भएको छ । उक्त स्तम्भको अयोध्याधामका पिठाधिश नृत्य गोपालदास महाराजको आशिर वचन सहित उनका उताराधिकारी कमलनयनदास जी महाराजको करकमलबाट अनावरण गरिएको हो । उनले सोही अवसरमा नेपालका विभिन्न तीर्थस्थलहरुमा गरिने श्रीरामनाथ लेखनजप स्तम्भ निर्माण अभियान प्रारम्भ भएको उद्घोष गरेका थिए ।

    नेपालका सबै धार्मिक पीठहरुमा श्रीरामनाम लेखन जप स्तम्भ गर्ने उद्देश्यले अभियानको थालनी गरिएको समूहका संयोजक घिमिरेले जानकारी दिए । सो कार्यक्रमलाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुभकामना सन्देश समेत पठाएका थिए । सो अवसरमा वृन्दावनधामका सन्त एवम् देवघाटधामका सबै सन्तहरुको उपस्थिती रहेको थियो । श्रीराम लेखन जापको औचित्य पुष्टि गर्दै लेखन जाप समूहका संयोजक घिमिरेले आफुद्धारा लिखित लेख समेत प्रर्दशन गरेका थिए । उक्त कार्यक्रमको अध्यक्षता सिताराम मन्दिरका पिठाधिश रामचरणदास महाराजले गरेका थिए ।

    सो अवसरमा देबघाटका सम्पुर्ण मठाधिशहरुले मन्तव्य राखेका थिए । सो कार्यक्रममा स्वागत प्रा.रामानन्द रिजाल, धन्यवादज्ञापन गृह मन्त्रालयका पूर्व उपसचिव कुलचन्द्र भट्टराईले गरेका थिए भने कार्यक्रम सञ्चालन प्रा. दिनेश पाण्डेले गरेका थिए । जसले आत्मा शान्ति , देश तथा विश्व शान्ति वातावरण तथा प्रकृति शान्तिको कामना सहित यो कार्य थालनी गरिएको संयोजक घिमिरेले जानकारी दिए । राम नाम जप सबै खाले शान्तिका लागि महत्वपूर्ण कार्य भएको उनले बताए । जीवनमा परमात्मासँगको मिलनका लागि श्रीराम लेखनले महत्वपूर्ण योगदान गर्न सक्ने समेत उनको भनाइ थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend