डाेटी – जनता आवास कार्यक्रमअन्तर्गत सुदूरपश्चिमका चार वटा जिल्लामा एक हजार चार वटा घर निर्माण भएका छन् । भौतिक पूर्वाधार मन्त्रालय सुदूरपश्चिम प्रदेशको ११ करोड ४७ लाख रुपैयाँभन्दा बढीकाे लगानीमा घरहरू निर्माण भएका हुन् ।
सुदूरपश्चिममा २०७४ सालदेखि जनता आवास कार्यक्रम लागू भएको थियो । सहरी विकास तथा भवन कार्यालय दिपायल, राजपुरअन्तर्गत सुदूरपश्चिमका पहाडी जिल्लाहरू डोटी, डडेल्धुरा,अछाम र बाजुरामा घरहरू निर्माण भएका हुन् । सरकारले घरवासविहीन दलित समुदायका लागि घरहरू निर्माण गरेको थियो । दुई कोठा, एक भान्सा भएको बरन्डासहितको भूकम्प प्रतिरोधात्मक घर निर्माण गरेर लक्षित वर्गलाई हस्तान्तरण गरिएको सहरी विकास तथा भवन कार्यालय दिपायल, राजपुरले जनाएको छ ।
सरकारले प्रतिघर निर्माणका लागि तीन लाख ३२ हजार पाँच सय रुपैयाँ अनुदानसहित प्राविधिक सहयोग गरेको हो । जनता आवास कार्यक्रमअन्तर्गत डोटीमा तीन सय ४५, डडेल्धुरामा तीन सय ७०, बाजुरामा एक सय ८९ र अछाममा एक सय वटा घर निर्माण गरिएको सहरी विकास तथा भवन कार्यालय दिपायल, राजपुरका प्रमुख इन्द्रबहादुर स्वाँरले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण सम्पन्न भएका ९५ प्रतिशत घरहरू लक्षित वर्गलाई हस्तान्तरण गरिएको र बाँकी हस्तान्तरण गर्ने तयारीमा रहेका छन् ।
सरकारले घर बनाइदिएपछि अरूको घर गोठमा बस्नुपर्ने बाध्यता हटेको दिपायल सिलगढी नगरपालिका–४ का जगत्रादेवी कामीले बताउनुभयो । जनता आवास कार्यक्रम प्रभावकारी देखिएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनुभयो ।



