काठमाण्डाै –
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको भएको दाबी गर्नुभएको छ ।
बिहीवार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक कार्यक्रमपछि बोल्दै उहाँले अहिलेको न्यूनतम साझा कार्यक्रममा यसअघिको सरकारसँग रहेका दलहरू र अहिलेका सरकारमा रहेका दलहरूकै साझा रूपमा कार्यक्रम राखिएकाले याे राष्ट्रिय सहमतिको भएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारको न्यूनतम साझा कार्यक्रम पहिलाको भन्दा धेरै विकसित र परिमार्जित भएर आएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाको न्यूनतम साझा कार्यक्रम, यसअघिको गठबन्धनबाट म प्रधानमन्त्री हुँदाको न्यूनतम साझा कार्यक्रमसमेतलाई अध्ययन गरेर त्यसमा भएका सबै राम्रा कुरालाई अहिले राखिएकाे छ । यो 'ड्राफ्ट' भेट्ने बुद्धिजीवीले यो प्राथमिकता र न्यूनतम साझा कार्यक्रम धेरै वैज्ञानिक रहेको भनेर प्रशंसा गर्नुभएको छ । यो साझा कार्यक्रमलाई कार्ययोजनामा ढालेर कार्यान्वयन गर्ने हो भने देशका समस्या समाधान हुनेछन् । यो राष्ट्रिय सहमतिको न्यूनतम साझा कार्यक्रम हो ।’
प्रधानमन्त्री प्रचण्डले न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वयन गर्ने जिम्मेवारी कर्मचारी, राजनीतिक दलहरु सबैको रहेको बताउनुभयो ।



