काठमाडौं, वैशाख ७
फिल्मले बक्स अफिस सफलता हासिल गरेपछि ‘जारी’का निर्देशक र कलाकारले पत्रकार सम्मेलन गर्दै दर्शकलाई धन्यवाद दिएका छन् । निर्देशक उपेन्द्र सुब्बा, कलाकारहरु दयाहाङ राई, मिरुना मगर, विजय बराल लगायतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेकोबारे चर्चा गरे ।
अभिनेता राईले आफू लिम्बू संस्कृतिसँग निकट हुँदा काम गर्न सजिलो भएको अनुभव सुनाए । ‘काम गर्न कठिन भए पनि लिम्बूसँग नजिक भएकाले सजिलै भयो,’ उनले भने । सांस्कृतिक हिसाबले पनि आफूलाई अभिनय गर्न सजिलो भएको उनको कथन छ । ‘मलाई काम गर्न कल्चरको हिसाबले उस्तैउस्तै भएर धेरै नै सहज भयो, अभिनय गर्नलाई । कल्चर मिल्दोजुल्दो थियो, लय पनि मिल्दोजुल्दो थियो,’ उनले भने, ‘स्क्रिप्ट छर्लङ्ग थियो, त्यो मेरो लागि चुनौती थियो । रिस, प्रेम, इगो सबै थियो । सांस्कृतिक हिसाबले पनि मलाई अभिनय गर्न धेरै सहज भयो ।’
मिरुनाले यो फिल्ममा पात्रभित्रै डुबेर अभिनय गर्न पाएको अनुभव सुनाइन् । अभिनय गर्दा पात्रको विषयवस्तुलाई महसुस गरेर काम गरेकाले राम्रो प्रतिक्रिया पाएको मिरुनाको भनाइ छ । ‘‘मैले काम गरेका चरित्रमा जारी भिन्न थियो । जारीको स्क्रिप्ट पढ्दा नै मैले धेरै नै भिन्नता पाएको थिएँ,’ उनले भनिन्, ‘स्क्रिप्ट पढ्नेबित्तिकै काम गरेको जस्तो फिल हुन्छ होला भन्ने लागेको थियो । मैले यो चरित्रमा वास्तविक अभिनय गर्ने प्रयास गरेको छु । चलचित्रमा मैले पात्रको अभिनयलाई महसुस गरेर काम गरें र धेरैकुरा सिक्न पाएँ ।’
विजयले लिम्बू भाषा बोल्नै नजान्नेलाई सबैभन्दा बढी लिम्बू भाषा प्रयोग गर्नुपर्ने पात्र बनाउँदा कठिनाइ भएको अनुभव सुनाए । ‘तर सिक्दै जाँदा सहजै अभिनय गरियो,’ उनले भने । लिम्बू समुदायमा रहेको जारी प्रथाको कथावस्तु समेटिएको फिल्मलाई रामबाबु गुरुङले निर्माण गरेका हुन् ।



