चितवन, वैशाख १५
भरतपुर भ्रमण वर्ष आठ महिना पछाडि धकेलिएको छ । ठूला आयोजनाहरु निर्माणका क्रममै रहेकाले भ्रमण वर्ष पछाडि धकेलिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताएकी छन् ।
उनका अनुसार भरतपुर महानगरका गौरवका आयोजनाहरु पुलचोक–गोन्द्राङ ६ लेन सडक, सिटी हल, भूमिगत विद्युतीय लाइन, बाइपास सडकलगायतका दर्जनौँ आयोजनाहरु निर्माणाधीन अवस्थामा छन् । ‘सडक निर्माणका आयोजनाहरु पूरा नहुँदा भ्रमण वर्षमा आएका पाहुनाहरुले सहज महसुस गर्दैनन्, अनि तयारी पनि थोरै पुगेन’, प्रमुख दाहालले भनिन्, ‘२०८० सम्म महानगरमा सुरू गरिएका सबै आयोजनाहरु पूरा हुन्छन् र भ्रमण वर्ष गर्न सकिन्छ भनेर घोषणा गरिएको थियो, तर आयोजनाहरु पूरा नभएकाले भ्रमण वर्षलाई ८÷९ महिना पर सारिएको हो ।’
‘भूमिगत विद्युतीय तारको कामदेखि छ लेन सडकको काम सम्पन्न भएपछि भरतपुर सहर हेर्न लायक हुन्छ, त्यसपछि भरतपुर भ्रमण वर्ष मनाउँदा सफल हुन्छ’, प्रमुख दाहालले भनिन् । उनका अनुसार सन् २०२३ को अन्तिमसम्ममा भूमिगत विद्युतीय तारदेखि ६ लेन सडक अन्तिम चरणमा पुग्नेछ ।
‘संरक्षणका लागि पर्यटन स् पर्यटनका लागि भरतपुर’ भन्ने नाराका साथ भरतपुर भ्रमण वर्ष मनाउन लागिएको हो । यसअघि नै भरतपुर महानगरले प्रमुख सात गन्तव्यसहित ३० वटा पर्यटकीय गन्तव्य छनोट गरिसकेको छ । भरतपुर महानगरपालिका प्राकृतिक सौन्दर्यले सम्पन्न, ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण छ ।



