गण्डकीका मुख्यमन्त्री र दुई मन्त्रीले लिए शपथ

images
  • 82
    SHARES
  • बैशाख १५, २०८० शुक्रबार
    गण्डकीका मुख्यमन्त्री र दुई मन्त्रीले लिए शपथ
    images

    कास्की 

    गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित दुई विनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

    आज शुक्रवार प्रदेश प्रमुखको निवासमा आयोजित समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री र मन्त्रीलाई शपथ गराउनुभएको हो । विनाविभागीय मन्त्रीका रूपमा प्रदेश सभा सदस्य सुशीला सिम्खडा र सरस्वती अर्याल तिवारीले शपथ ग्रहण गर्नुभएको हो ।

    सिम्खडा नेकपा (माओवादी केन्द्र) र तिवारी नेपाली कांग्रेसबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । मन्त्रिपरिषद् विस्तार र नवनियुक्त मन्त्रीहरूको जिम्मेवारी बाँडफाँट छिटै हुने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

    प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कांग्रेस संसदीय दलका नेता पाण्डेलाई हिजाे बिहीवार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । 

    कांग्रेसका २७, माओवादी केन्द्रका सात र नेकपा (एकीकृत समाजवादी) का एकसहित प्रदेश सभाका ३५ सदस्यको समर्थनमा कांग्रेसका पाण्डे गण्डकी प्रदेशको चौथो मुख्यमन्त्री बन्नुभएको हो । नवनियुक्त मुख्यमन्त्री गएकाे मङ्सिरमा भएको प्रदेश सभा चुनावमा गोरखा–२ (ख) बाट निर्वाचित हुनुभएको थियो । 

    प्रदेश सभाबाट विश्वासको मत गुमाउँदै नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि गण्डकीमा नयाँ संयुक्त सरकार बनेको हो ।

    तस्बिर : भुपाल गुरुङकाे फेसबुकबाट 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend