चितवन, वैशाख २३
नेपाली कांग्रेसका नेता तथा पोल्ट्री व्यवसायी शंकर कँडेलको न्यायको लागि भन्दै चितवनमा शनिबार चक्काजाम गरी प्रर्दशन भएको छ । व्यवसायी कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गर्ने मुख्य व्यक्ति पक्राउ गर्न माग गर्दै नेपाली कांग्रेसले भरतपुरको केन्द्रीय बसपार्कचोकमा प्रर्दशन गरेको हो ।
शंकर कँडेल न्यायिक संघर्ष समितिले आह्वान गरेको चितवन बन्दका कारण राजमार्गमा सवारी साधन चलेका छैनन् । प्रर्दशनमा उत्रिएका कांग्रेसका नेता तथा कार्यकर्ताहरुले कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गर्ने मुख्य व्यक्ति पक्राउ गर्न माग गरेका छन् ।
नेपाली कांग्रेस चितवनका उपसभापति राजिव न्यौपानेले चितवन बन्दको आह्वान नगरिएको बताएका थिए । कांग्रेस र कांग्रेस निकटका कुनै पनि संगठनले चितवन बन्दको आह्वान नगरेको भन्ने जानकारी गराएकोले पनि प्रदर्शनकारीहरु कांग्रेस चितवनप्रति आक्रोशित भएका हुन् । कांग्रेसले बन्दमा समर्थन नगरेर दोहोरो चरित्र खेलेको कतिपयको आरोप छ । उनीहरुले शंकर कँडेल प्रकरणमा राजनीति नगर्न पनि चितवन कांग्रेसलाई चेतावनी दिएका छन् ।



