बझाङको साइपाल गाउँपालिकामा खाद्य संकट

images
  • 86
    SHARES
  • बैशाख २४, २०८० आइतबार
    बझाङको साइपाल गाउँपालिकामा खाद्य संकट
    images

    काठमाण्डौ –

    बझाङको साइपाल गाउँपालिकामा खाद्य संकट भएको छ । एक महिना पुग्ने गरी मात्रै खाद्यान्न उत्पादन हुने साइपालमा ११ महिना किनेरै खानुपर्छ ।

    खाद्य संस्थानबाट साढे दुई क्विन्टलमात्रै चामल पाउने गरेको र वर्षभरीमा खानका लागि पर्याप्त नभएको साइपाल गाउँपालिका–४ धुलीका सोनाम तामाङले बताउनुभयो ।

    तामाङको परिवारमा सात जना छन् । गाउँमै बस्ने उहाँको आयस्रोत ‘सिजन’अनुसार यार्सागुम्बा सङ्कलन नै हो।सोनामको परिवारमा वर्षभरिका लागि झण्डै ११ क्विन्टल चामल आवश्यक पर्छ ।

    गएको वर्षमात्रै उहाँको परिवारले नौ क्विन्टल चामल किन्नुपर्‍यो, त्यो पनि महँगोमा । सदरमुकाम चैनपुरमा पाइने सामानको मूल्य साइपालमा पुग्दा चौबर हुने गरेको उहाँले बताउनुभयो ।

    साइपालको धुली पुग्न चैनपुरबाट पाँच दिन पैदलयात्रा गर्नुपर्छ । पाँच दिन लगाएर बोकेर पुर्‍याइने भएकाले चामललगायतका खाद्य वस्तुको मूल्य तेब्बरभन्दा बढी पर्छ ।

    पाँच वर्षदेखि नेपाल–चीन सीमानाका ताक्लाकोट पूर्णरूपमा बन्दा हुँदा  साइपालवासी मारमा परेका हुन् । धुलीबाट नजिकै पर्ने हुँदा साइपालवासीका दैनिक उपभोग्य सामान यस अघि ताक्लाकोटबाटै आउने गरेको थियो ।

    तर पाँच वर्षेदेखि आवतजावत नै ठप्प भएको साइपाल–५ न्यूनाका वडाध्यक्ष जैपाल बोहराले बताउनुभयो । झण्डै तीन हजार जनसङ्ख्या रहेको साइपालमा खाद्यान्नका लागि पालिकाले हरेक वर्ष सिंहदरबार चहार्दै आएको छ ।

    साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्र धामी आफ्नो पाँचवर्षे कार्यकालमा चारपटक खाद्यान्नका लागि प्रधानमन्त्री निवास बालुवाटार आउनु भएको थियो ।

    अहिलेका अध्यक्ष मानवीर बोहरा र उपाध्यक्ष डोल्मा तामाङ पनि खाद्यको समस्या समाधानका लागि यसै वर्ष तीनपटक सिंहदरबार आइसक्नु भएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend