तनहुँ, जेठ ३
तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ अनुदानमा वितरण गरेको छ । प्रति किलो रु ५५ मा खरिद गरी कृषकलाई बीउ वितरण गरेका हो । रामधान सत्र, सावित्री चौध र सुक्खाधान तीन क्विन्टलसहित कुल ३४ क्विन्टल धानको बीउ वितरण गरिएको व्यास कृषि शाखाका कृषि अधिकृत प्रतिमा बगालेले जानकारी दिनुभयो । सङ्घीय सरकारको खाद्य बाली उन्नत बीउ प्रयोग मूल्य अनुदान कार्यक्रमअन्तर्गत कृषकलाई बीउ वितरण गरिएको हो ।
कृषकलाई व्यावसायिक खेतीमा उत्साहित गराउन र आत्मनिर्भर बनाउने उद्देश्यले बीउमा अनुदान कार्यक्रमलाई व्यास नगरपालिकाले प्राथामिकता दिँदै आएको छ । प्रशस्त पानीको सुविधा भएका स्थानमा सावित्री, रामधान र आकाशे पानीको भरमा रोपिने सुक्खा ठाउँमा सुक्खा धान लगाउन राम्रो हुने बताइएको छ ।
बीउमा अनुदान दिन थालेपछि कृषक व्यावसायिक खेतीतर्फ उत्साहित भएर लागेका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो । नगरपालिकाले केही समयअघि रामपुर, कम्पोजिट, मनकामना–३, अरुण–२ लगायत जातको सात मेट्रिक टन उन्नत मकैको बीउ समेत ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो ।



