काठमाडौं, जेठ ७
पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। वसन्त ऋतुको जारी आरोहणमा बुढामगर शुक्रबार दिउँसो ३ सगरमाथाको चुचुरोमा पुगेका हुन्।

बुढामगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए। बेलायती सेनामा भर्ना हुनुअघि सगरमाथा आरोहण गर्ने उनको सपना थियो। सगरमाथाको चुचुरोमा पुगेपछि बुढामगरले खुशीका साथ जोडले चिच्चाउँदै भनेका थिए, ‘हामी सफल भयौँ।’ हरिको आरोहणका लागि एचएसटी एडभेन्चर्सका कृष थापा एक्सपिडिसन लिडरथिए।
सफल आरोहणपछि स्याटलाइट फोनमार्फत बुढामगरले भने, ‘वास्तवमा मैले सोचेभन्दा धेरै गाह्रो थियो तर हामीलाई अगाडि बढ्नैपर्ने थियो। त्यसैले हामीलाई कुनै फरक परेन। जतिसुकै दुःख भए पनि अन्ततः हामी सफल भयौँ।’
बुढामगरले शारीरिक अशक्त भएका व्यक्तिहरू कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य आफूजस्तै साथीहरूमा जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्वपूर्ण रहेको बताए। ‘यदि म संसारको शिखरमा चढ्न सक्छु भने, अपांगता भएका जो कोहीले आफ्नो सपना पूरा गर्न किन सक्दैन ?’, उनले भने।
सगरमाथाको आरोहणपूर्व पूर्वगोर्खा सैनिक बुढामगरले माउण्टन्ट ब्लाङ्क (चार हजार आठ सय १० मिटर), चुलु सुदूरपूर्व (छ हजार ५९ मिटर), किलिमन्जारो (पाँच हजार आठ ९५ मिटर) र मेरापिक (छ हजार ४७६ मिटर) लगायतका आरोहण गरेका थिए।
साथै सगरमाथा आधार शिविर पुग्ने र सगरमाथामाथि स्काइ ड्राइभ गर्ने ‘डबल एम्प्युटी एभोब एभोब नी’ को रेकर्ड पनि बुढामगरको नाममा छ।



