आशिक रानामगर
सिद्धी । पोखरामा कार्यालय रहेको एसोसिएसन अन्नपूर्ण नेपालले सोमबार चितवनको सिद्धीमा खाद्यान्न सहयोग गरेको छ । वर्षौँदेखि खाद्यान्न अभावमा पिल्सिँदै आएका सिद्धीका चेपाङ समुदायलाई उक्त गैरसरकारी संस्थाले खाद्यान्न सहयोग गरेको छ । कालिका नगरपालिकाको वडा नं.११ को दौतेस र खिर्कीका ३८ परिवारलाई प्रतिपरिवार एक बोरा चामलसहित नुन, दाल, मस्यौरा, तेललगायतका खाद्यान्न सहयोग गरिएको आयोजक संस्था एसोसिएसन अन्नपूर्ण नेपालका प्रमुख धन अधिकारीले जानकारी दिए ।

चितवनका चेपाङ समुदायसँग करिब पाँच वर्षदेखि निकट हुँदै आएका उनले यसपटक पनि अवस्था हेरेर सहयोग सामग्री ल्याएको बताए । ‘पाउनेले नपाउनेलाई सहयोग गर्दा पुण्य मिल्छ,’ उनले भने, ‘त्यसैले सकेको बेला अभावमा रहेकालाई सबैले सहयोग गर्नुपर्छ ।’ गामबेँसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपीकिरण शर्मामार्फत पोखरामा रहेको संस्थाले चितवनको विकट क्षेत्रमा खाद्यान्न वितरण गरेको हो ।

पहाडको कन्दरामा बस्दै आएका चेपाङ समुदायका लागि मकै उत्पादन नभएसम्म अनिकालको सामना गर्नुपर्ने बाध्यता पुस्तौँदेखिको समस्या हो । त्यसैले सोमबार दाताबाट खाद्यान्न पाएपछि केही दिन चेपाङको घरमा चुल्हो बल्ने स्थानीय शिक्षक खड्क चेपाङले बताए । ‘हाम्रो गाउँसम्म आउन बाटो पनि गतिलो छैन,’ उनले भने, ‘त्यसैले गाउँमा राहत ल्याउन चाहने दाताहरू पनि बाटोकै कारण यहाँसम्म आउने आँट नै गर्दैनन् ।’

शक्तिखोरबाट तीन दोभान हुँदै रन्तेससम्मको बाटो केही सहज भए पनि त्यसभन्दा माथि सवारीसाधन उक्लिन सक्ने बाटो नहुँदा समस्या भएको उनले बताए । मोटरबाटो खने पनि सवारीसाधन गुडाउन सक्ने बाटो नभएकोले समस्यामा परेको स्थानीयको भनाइ छ ।

उक्त संस्थाले दौतेसमा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि खेलकुद तथा शैक्षिक सामग्रीसमेत प्रदान गरेको छ । २०५५ सालमा स्थापना भएको विद्यालयमा कक्षा ३ सम्मको पढाइ हुँदै आएको छ ।



