चितवन, जेठ १०
क्यान्सर रोगबाट ग्रसित म्याग्दीकी अर्चना पुनलाई सहयोग गर्न पोखराकी गिभाना मगर गत हप्ता भरतपुरस्थित वीपि कोइराला मेमोरियल क्यान्सर अस्पताल पुगेकी थिइन् । अर्चना एक वर्षदेखि क्यान्सरको उपचार गराइरहेकी छन्।
त्यो भिडियो क्षणभरमै धमाधम शेयर भयो । भिडियोमा नर्सहरुलाई तथानाम गाली आएपछि घटना प्रहरीसम्म पुग्यो । सोहि भिडियोका कारण अहिले नर्सहरु आन्दोलित भएका छन् ।
उक्त घटनापछि नर्सहरू आफ्नो पेशागत मर्यादा लगायतका मागहरू सहित आन्दोलनमा उत्रिएका हुन् ।
गिभानाको टिकटक आइडीमार्फत् सार्वजनिक भएको भिडिओमा उनले भनेकी छन्, “बिरामीलाई साढे चार बजे खोप दिइएको भए पनि नर्सले त्यसलाई दुई बजेको रेकर्डमा राखेकी छन्।”
आफूले ‘बिरामीको स्वास्थ्यमा खेलबाड गर्नु हुँदैन भन्दा नर्सहरू नै रिसाएको’ उनको दाबी छ।
नर्सले आफूमाथिको त्यस्तो आरोप खण्डन गरेकी छन्। जिल्ला प्रहरी कार्यालय चितवनको रोहबरमा दुवै पक्ष विवाद टुङ्ग्याउन राजी भएको नेपाल नर्सिङ सङ्घकी अध्यक्ष मनकुमारी राईले जानकारी दिइन्।
टिकटक, फेसबुकलगायत सामाजिक सञ्जाल प्रयोगकर्ताहरू दुई ध्रुवमा बाँडिएका छन् । कतिपयले ती अभियानकर्मीको पक्षमा मत राखेका छन् भने केहीले घटनालाई नर्सको पक्षबाट पनि हेरिनु पर्ने बताएका छन् ।



