तामाङ पत्रकार संघ चितवनले एक हप्ते निःशुल्क ‘तामाङ भाषा प्रशिक्षण’ दिने

images
  • 97
    SHARES
  • जेठ १४, २०८० आइतबार
    तामाङ पत्रकार संघ चितवनले एक हप्ते निःशुल्क ‘तामाङ भाषा प्रशिक्षण’ दिने
    images

    –सन्तोष तामाङ
    चितवन 

    तामाङ पत्रकार संघ जिल्ला शाखा चितवनले एक हप्ते निःशुल्क ‘तामाङ भाषा प्रशिक्षण’ दिने भएको छ । ‘तामाङ भाषा प्रशिक्षण’ यही जेठ २७ गतेबाट असार १ गतेसम्म भरतपुरमा हुने संघका अध्यक्ष बबिलाल तामाङले जानकारी दिए ।


    अध्यक्ष तामाङका अनुसार संघको शनिबार टाँडीमा सम्पन्न बैठकबाट सो निर्णय गरिएको हो । विशेषगरी तामाङ समुदायका युवायुवतीलाई लक्षित गरी उक्त कार्यक्रम गर्न लागिएको संघले जनाएको छ ।
    पछिल्लो समय समुदायमा तामाङ भाषा प्रचलनमा नआउनु, बढ्दो शहरीकरणसँगै युवायुवती अन्य भाषातर्फ जान बाध्य भएका कारण आफ्नै मातृभाषाको ज्ञान हराउँदै गएको उनको भनाइ छ । उनले उक्त तालिमबाट तामाङको संस्कृति तथा भाषा जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।


    संघले तालिममा भरतपुर महानगरभित्रका सम्पूर्ण तामाङवासीहरुलाई तालिममा सहभागी हुन आग्रह समेत गरिएको छ । सिट सीमित भएकाले पहिलो आउनेलाई प्राथमिकता राखेर तालिम दिइने उनले बताए ।
    बैठकको निर्णय अनुसार अधिवक्ता अजयकुमार तामाङले ‘तामाङ भाषा’को प्रशिक्षण दिने भएको छ भने ६० जना प्रशिक्षार्थीहरु सहभागी गराउने लक्ष्य राखिएको छ । बैठकमा तामाङ पत्रकार संघ संघीय सचिव उर्गेन तामाङ, संघका सचिव प्रकाश तामाङ, सहसचिव सन्तोष तामाङ, सदस्य युवक तामाङ, मनोनित सदस्य प्रकाश लामालगायतको उपस्थिति रहेको थियो ।

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend