‘रेशमको सवालमा एमालेको विरोध सार्वजनिक खपतका लागि मात्र’

images
  • 81
    SHARES
  • जेठ १५, २०८० सोमबार
    ‘रेशमको सवालमा एमालेको विरोध सार्वजनिक खपतका लागि मात्र’
    images

    १५ जेठ, काठमाडौं 

    स्थानीय तह निर्वाचनको बेला २०७९ वैशाख २२ गते कैलालीको बौनियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए– ‘मलाई थाहा छ यहाँका थारु नेता जेलमै छन् । अनेकौं हजार मान्छे मरे, जेलमा हुनुपरेन । यहाँ हुँदै नभएको मान्छेलाई मुद्दा लगाएर, रेशम चौधरी यहाँ थिएनन्, उनलाई मुद्दा लगाउनुपर्ने कुनै कारण थिएन । मैले थारु समुदायका नेताहरुसँग ६ बुँदे सम्झौता गरेर ती समस्याहरुका समस्या समाधान गरौंला भनेर प्रतिबद्धता जनाएको थिएँ । तर सरकार गयो ।’

    ओली नेतृत्वको तत्कालीन सरकारको वार्ता टोली संयोजकसमेत रहेका कानुनमन्त्री लिलानाथ श्रेष्ठ र थारुहट/थारुवान संयुक्त संघर्ष समितिको तर्फबाट वार्ता टोली संयोजक रुकमिणी चौधरीबीच रेशम चौधरीलाई रिहा गर्ने लगायतका ६ बुँदे सहमति भएको थियो । २०७२ जेठ १८ गते भएको उक्त सम्झौता कार्यान्वयनमा भने आएन ।

    बौनियामा आयोजित सोही सभालाई सम्बोधन गर्दै ओलीले बीचमै सरकार ढलेकाले सहमति कार्यान्वयन हुन नसकेको बताएका थिए । त्यसपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले सहमति कार्यान्वयन नगर्ने र भोटको राजनीतिमा मात्र गर्ने भनेर ओलीले आलोचना गरे ।

    उनले भनेका थिए, ‘अहिलेको सरकारले १० महिनासम्म कुनै समस्याको समाधान गरेन । भोटको राजनीति गर्छ, समस्या समाधान गर्दैन । थारु कल्याणकारीलाई बोलाएर मैले सहमति गरेको थिएँ र तपाईंहरुका यी कामहरु म गर्दिन्छु भनेर प्रतिबद्धता जनाएको थिएँ । हाम्रो गृहमन्त्री उहाँहरु अनसन बसेर धर्ना दिएको ठाउँमा आफैं गएर पलेटी कसेर बसेर माग पूरा गर्छु भन्नु भएको थियो । तर सरकार गयो तपाईंहरुलाई थाहा छ ।’

    शेरबहादुर देउवा नेतृत्वको सरकारले रेशम चौधरीलाई रिहा गर्ने उद्देश्यले फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ संशोधन गर्न अध्यादेश ल्याउने तयारी गरेको थियो । तर त्यो सफल भएको थिएन ।

     

    ओली नेतृत्वको सरकारको पालामा रेशमलाई रिहा गर्ने लगायतका सहमति भएको दुई वर्षपछि सोमबार उनी रिहा भए । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको मन्त्रिपरिषद बैठकले रेशमको सजाय माफ दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आइतबार सिफारिस गरेको थियो । सोही सिफारिस राष्ट्रपतिबाट सदर भएपछि रेशम गणतन्त्र दिवसको दिन डिल्लीबजार कारागारबाट रिहा भए । पाँच वर्ष ३ महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको छ ।

    सरकारले माफी दिने निर्णय सार्वजनिक भएलगत्तै नेकपा एमालेबाटै विरोधको स्वर सुनियो । एमालेका सचेतक महेश बर्तौलाले सरकारले सत्ता टिकाउन रेशमलाई माफी दिने निर्णय गरेको भन्दै सार्वजनिक रुपमा आलोचना गरे ।

    तर थारुहट/थारुवान संघर्ष समितिको वार्ता टोली संयोजकको रुपमा ६ बुँदे सहमतिमा हस्ताक्षर गरेकी पूर्वसभासद रुकमिणी चौधरी भने एमालेको विरोधको कुनै तुक नभएको बताउँछिन् । चौधरीले अनलाइनखबरसँग भनिन्, ‘मैले गरेको एउटै कुरा मैले गर्दा ठिक अर्कोले गर्दा बेठिक भन्नुको तुक छैन । यो त एमालेको दोहोरो चरित्र भइहाल्यो नि ।’

    रेशम चौधरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको थारु बहुल क्षेत्रलाई छुट्टै प्रदेश बनाउनुपर्छ भन्ने आन्दोलनमा थिए । आन्दोलनको क्रममा ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको हत्या भयो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले रेशमसहित ८८ जनाविरुद्ध मुद्दा चलाएपछि उनी फरार भए ।

    २०७४ मंसिरको आम निर्वाचनमा रेशमले भूमिगत स्थितिमै तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएर भारी मतान्तरले विजयी भए । तर विजय भएको प्रमाणपत्र आफैंले बुझ्न नपाएपछि उनले १५ फागुन २०७४ मा आफूविरुद्ध मुद्दा दर्ता भएको कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरे । पुर्पक्षका लागि थुनामा रहेकै बेलामा १९ पुस २०७५ मा उनलाई तत्कालीन सभामुख कृष्णबहादुर महराले सिंहदरबारभित्र सांसदको शपथ ग्रहण गराएका थिए ।

    त्यतिबेला प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थिए । चौधरीलाई सपथ खुवाउने निर्णय नेकपाका शीर्ष नेताहरुलाई थाहै नदिई तत्कालीन प्रधानमन्त्री ओली, प्रचण्ड र सभामुखको सल्लाहमा गरिएको भन्दै नेकपाभित्र असन्तुष्टि देखिएको थियो । नेताहरुका अनुसार यो टीकापुर घटना र चौधरीबारे ओलीको यू–टर्न मात्र होइन, सचिवालय सदस्यहरुलाई दिएको ‘सरप्राइज’ पनि थियो । चौधरीको सपथबारे पार्टीको कुनै कमिटीमा छलफल भएको थिएन । शीर्ष नेताहरुसँग परामर्श समेत भएन ।

    सरकारलाई समर्थन गरेको राष्ट्रिय जनता पार्टीले चौधरीको सपथलाई लगातार मुद्दा बनाउँदै आएको थियो । उसले हालै मात्र संविधान संशोधन लगायतका माग पूरा नगरे समर्थन फिर्ता लिने चेतावनी दिएपछि प्रधानमन्त्रीले एक साता समय मागेका थिए । यो समय गुज्रिएलगत्तै प्रधानमन्त्रीले चौधरीलाई सपथ खुवाउने चाँजोपाँजो मिलाएका थिए ।

    स्रोतका अनुसार नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले तत्कालीन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार बोलाएका थिए । त्यहीँबाट सभामुख महरालाई फोन गरेर चौधरीलाई सपथ खुवाउन भनेका थिए । तत्कालीन सभामुख महराले पनि अनलाइनखबरसँग कुरा गर्दै प्रधानमन्त्रीको निर्देशन पालना गरेर रेशमलाई सांसद पदको शपथ खुवाएको बताएका थिए ।

    रुकमिणी चौधरी रेशम चौधरीको बारेमा एमालेले दोहोरो चरित्र देखाएको बताउँछिन् । ‘रेशमको सवालमा एमालेको विरोध सार्वजनिक खपतका लागि मात्र हो,’ उनी भन्छिन्, ‘नत्र भने आफू सरकारमा हुँदा गरेको निर्णय ठिक हुने र त्यही निर्णय अर्को सरकारले गर्दा गलत कसरी हुन्छ ?’

    टिकापुर काण्डमा रेशम दोषी नभएको जिकीर गर्दै रुकमिणी भन्छिन्, ‘रेशममात्र होइन, टिकापुर काण्डका कारण जेलमा भएकाहरु र मुद्दा लागेर फरार भएकाहरुलाई पनि सरकारले मुद्दा फिर्ता लिनुपर्छ ।’

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend