कारोबार ठप्प भएपछि व्यवसायीको छटपटी : घरभाडा छूट गरिदिन आग्रह

images
  • 105
    SHARES
  • जेठ २७, २०८० शनिबार
    कारोबार ठप्प भएपछि व्यवसायीको छटपटी : घरभाडा छूट गरिदिन आग्रह
    images

    नारायणगढ 

    कारोबार ठप्प भएपछि चितवनका व्यवसायी तनावमा छन् । कोभिड–१९ को प्रत्यक्ष असर, पुलचोक–गोन्द्राङ सडक विस्तार र टन्टलापुर घामका कारण मुख्य राजमार्ग क्षेत्रका व्यवसायी अझ बढी छट्पटिएका छन् । कारोबार नै नभए पनि चर्को घरभाडा तिरिरहनु परेपछि व्यवसायीहरु छटपटीमा परेका हुन् । देशमा चरम आर्थिक सङ्कट परिरहेकै अवस्थामा व्यापार नै नभएपछि नारायणगढ बजार क्षेत्रका व्यापारीले मुख्य राजमार्ग क्षेत्रका सटरहरुमा पूरै र अन्य क्षेत्रका व्यापारीका लागि २० प्रतिशत भाडा घटाइदिन घरधनीसँग माग गरेका छन् ।

    348370914_5585197751583298_6664658663228508773_n.jpg

    व्यवसायीलाई पनि आफूले बुझाउँदै आएको भाडामा २० प्रतिशत रकम घटाएर बुझाउन आग्रह गरेको छ । नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनको नेतृत्वमा चितवनका थुप्रै व्यावसायिक संघसंस्थाले पुलचोक–गोन्द्राङ सडकखण्डमा पर्ने व्यापारीका लागि पूर्ण छूट गराइदिन माग गरेका हुन् । आर्थिक मन्दीको असर रहुञ्जेल र व्यवसाय पूर्ववत् अवस्थामा नफर्किएसम्म घटाइएको भाडा नबढाउन माग गरिएको मञ्चले जनाएको छ ।

    पुलचोक–गोन्द्राङ सडकमा पर्ने व्यावसायिक सटरहरुको हकमा भने राम्रोसँग सञ्चालन नभएसम्मका लागि पूर्ण छूट गराइदिन माग गरिएको मञ्चका अध्यक्ष ख्यामनारायण पराजुलीले बताए । त्यसबाहेक हालसम्म व्यापारीले नै बुझाउँदै आएको घरबहाल कर पनि स्वयम् घरधनीलाई तिराइदिन माग गरिएको अध्यक्ष पराजुलीले बताए । ‘घरबहाल कर स्वयम् घरधनीले नै तिर्नुपर्ने वातावरणका लागि स्थानीय तहले पहल गरिदिन हाम्रो माग हो’, उनले भने ।

    चर्को घरभाडा, बैंकको व्याजदर पनि उस्तै चर्को र राज्यले प्राप्त गर्ने व्यवसाय करका कारण सबै खालका व्यवसायी पलायन हुने अवस्थामा आइपुगेको भन्दै व्यवसायीलाई जोगाउनका लागि राज्यको नियमनकारी निकायबाट पनि विशेष पहल हुनुपर्ने मञ्चले बताएको छ । ‘अहिलेको अवस्थामा सामान्यरुपमा दैनिक खर्च धान्न पनि मुस्किल परेको छ’, मञ्चका अध्यक्ष पराजुलीले भने, ‘यस्तो अवस्थामा राज्यको नियमनकारी निकायले ध्यान नदिने हो भने आगामी दिनमा राज्यले उठाउने कर प्रतिकूल बन्न पनि सक्छ ।’

    मञ्चको तथ्याङ्कअनुसार चितवनमा करिब ८० देखि ९० प्रतिशत व्यवसाय बहालमा सञ्चालित छन् । व्यवसायी चरम आर्थिक सङ्कटमा परेपछि नेपाल घरबहाल उपभोक्ता मञ्चको नेतृत्वमा विभिन्न व्यावसायिक संघसंस्थासँग बैठक बसेर उक्त निर्णय गरिएको हो । मञ्चले अघि सारेको निर्णयप्रति फेन्सी, होटल, विद्युत्, कपडा, फलफूल तथा तरकारी, इलेक्ट्रोनिक्स, सुनचाँदी, कम्प्युटर एसोसिएसन, मेसिनरी, औषधि, अधिकृत, कपडा सिलाइ, निर्माण सामग्री (हार्डवेयर), मदिरा तथा प्रोभिजनल, किराना, प्लास्टिक, अटोमोबाइल एसोसिएसन, नेपाल पशुपक्षीलगायतका विभिन्न व्यावसायिक संघसंस्थाले ऐक्यबद्धता जनाएका छन् ।

    ती संघसंस्थाले आफूहरुको साझा संस्था भए पनि उद्योग वाणिज्य संघले नेतृत्व लिन नसकेको बताएका छन् । वाणिज्य संघका पदाधिकारी आफैँ घरधनी र व्यवसायी भएकोले विशुद्ध बहालवाला व्यवसायीको हितमा आवाज उठाउन आनाकानी गर्दै आएको मञ्चको आरोप छ । चितवन जिल्लामा करिब एक हजार ३०० को हाराहारीमा बहालवाला व्यवसायी नेपाल घरबहाल उपभोक्ता मञ्चमा आबद्ध छन् । मञ्चका अध्यक्ष पराजुलीका अनुसार पुलचोकदेखि लायन्सचोकसम्मको मुख्य राजमार्गमा प्रतिसटर कम्तीमा २५ हजारदेखि ९० हजार रूपैयाँसम्म भाडा बुझाउने व्यवसायी छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend