काठमाडौं,जेठ २७
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीति गर्नुभन्दा टेलिभिजन कार्यक्रम चलाउन सजिलो भएको बताएका छन्। शनिबार पार्टीको पत्रकार सम्मेलनमा उनले आफैँ गर्छु भनेर राजनीतिमा आएपछि कयौँ प्रश्नको सामना गर्नुपरेको र कयौँ घेराबन्दीमा परेको बताए। टेलिभिजनमा असन्तुष्टी प्रकट गरेरै उदाएका उनले आफ्नै आत्मालोचना गर्दै असन्तुष्टी प्रकटले देश नसप्रिने टिप्पणी गरे।
८४ मा रास्वपा के हुन्छ भनेर घरघरमा आम जनताले अनुमान गरिसकेको उनको भनाइ थियो। तर त्यो अनुमानलाई बाधा पुर्याउन अहिल्यैदेखि प्रयासहरू भइरहेको उनले बताए। आफूहरूमाथिको घेराबन्दी सातो जाने खालको भए पनि नडराउने उनको भनाइ थियो। यसैगरी रास्वपाको आन्तरिक लोकतन्त्र मजबुत भएको बताउँदै उनले निर्धक्क हुन अनुरोध पनि गरे। फलानाले के भन्ला, बाउबाजेदेखिको पार्टी छाडे के होला सोचे फेरि पनि यो समाज यस्तै हुने उनले बताए।



