फोटो जलवीरे झरनामा देखिएको भीड
इच्छाकामना
भरतपुर–नारायणगढसहित चितवनको बजारी क्षेत्रमा गर्मीले आत्थु आत्थु बनाएको छ । खपिनसक्नु गर्मी भएपछि फुर्सदमा भएका सर्वसाधारण शितलताको खोजीमा छन् । यही क्रममा अधिकांश मानिसहरु गर्मी छल्न भन्दै जलवीरे झरना उक्लिने गरेका छन् । यतिखेर बजारी क्षेत्रका विद्यालयहरु समेत बन्द रहेको हुँदा सपरिवार झरना जाने क्रम बढेको छ । झरना पुग्न इच्छाकामना गाउँपालिकाले प्रतिव्यक्ति ५० रुपैयाँको टिकट शुक तोकेको छ । सोही आधारमा टिकट काउन्टरको तथ्यांक हेर्ने हो भने गत शनिबार अहिलेसम्मकै सबैभन्दा धेरै मानिसहरु झरना पुगेका थिए ।

झरना जाने टिकट काउन्टरकी कर्मचारी देवीमाया गुरूङका अनुसार गत शनिबार मात्रै एक हजार दुई सय जनाले टिकट काटेर झरनाको अवलोकन गरेका थिए । सार्वजनिक बिदाको दिन भएकोले पनि झरना आउनेहरुको संख्या अत्याधिक भएको उनले बताइन् । ‘तर, अन्य दिनमा सरदर चारसय जना झरना पुगेर फर्किने गरेका छन्,’ उनले भनिन् । नारायणगढ–मुग्लिन सडकदण्डको जलवीरे मन्दिरबाट उकालो लागेपछि करिब एक किलोमिटरको दुरीमा झरना पुगिन्छ । मुख्य राजामर्गबाट नजिकैको दुरीमा भएकोले पनि झरनामा धेरै जनाले अवलोकन गर्ने गरेको इच्छाकामना गाउँपालिकाले जनाएको छ ।
‘कोरोना भाइरस संक्रमणको जोखिमपछि सबैभन्दा धेरै पर्यटक गत शनिबार देखिए,’ गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालले भनिन्, ‘अहिलेको अवस्थालाई हेर्ने हो भने विगतका वर्षभन्दा यसवर्ष बढी राजस्व संकलन हुने अनुमान लगाउन सकिन्छ ।’ स्थानीय सरकार आइसकेपछि गाउँपालिकाले प्रदेश र केन्द्रसहित झरनाको लागि करोडौँ रूपैयाँ खन्याएको छ । झरनामा खेल्न जानेहरुको सम्भावित जोखिमलाई ध्यान दिएर गाउँपालिकाले काम गर्दै आएको उनले बताइन् ।
अझै पनि धेरै काम गर्न बाँकी रहेको गाउँपालिकाकी उपाध्यक्ष सिलवालले बताइन् । स्थानीय सरकार आउनुपूर्व पनि जलवीरे झरना पर्यटन विकास समितिमार्फत विकास निर्माणको काम भएको थियो । गाउँपालिका आइसकेपछि भने पालिकाले नै कर्मचारी खटाएर झरनाको सरसफाइ तथा सुरक्षा व्यवस्थापन गर्दै आएको छ ।



