नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

images
  • 153
    SHARES
  • आषाढ ११, २०८० सोमबार
    नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ
    images

    काठमाण्डाै

    नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभ देखाई रकम ठगी गरेको मुद्दाका फरार एक प्रतिवादीलाई आज साेमवार प्रहरीले पक्राउ गरेको छ । 

    जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार प्रहरी टोलीले आरोपी आशिष बुढाथोकीलाई मण्डिखाटारबाट पक्राउ गरेको हो ।

    गिरोहले सङ्कलन गरेको रकम उनको खातामा समेत आएको देखिएको प्रहरी उपरीक्षक रिजालले बताउनुभयो । त्यही आधारमा जिल्ला अदालत काठमाण्डाैमा विचाराधीन रहेको मुद्दामा उनी फरार सूचीमा थिए ।

    यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले यस प्रकरणमा पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी, बालकृष्ण खाण, तत्कालीन बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईसहित ३० जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । 

    यस मुद्दामा जिल्ला अदालत काठमाण्डाैकाे थुनछेक आदेशले पक्राउ परेका १८ मध्ये १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो भने दुई जना लक्ष्मी महर्जन र टङ्क गुरुङलाई जनही पाँच र १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । उनीहरूविरुद्ध ठगी, सङ्गठित अपराध, राज्यविरुद्धको अपराध, कीर्तेलगायत पाँच वटा मुद्दा चलाइएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend