चितवन, असार १२
सङ्घीय अस्पतालको रूपमा रहेको भरतपुर अस्पतालमा बिरामीको चापअनुसार कर्मचारी नहुँदा व्यवस्थापनमा समस्या हुँदै आएको छ । भरतपुर अस्पतालमा अहिले दैनिक एक हजार पाँच सय हाराहारी बिरामी बहिरङ्ग सेवामा आउने गर्दछन् ।
अस्पतालमा सरकारी र विकास समिति गरी नौ सय १५ चिकित्सक कर्मचारी कार्यरत रहेका छन् । सरकारले पाँच सय शय्याको अस्पतालका रूपमा विकास गर्दैगर्दा पनि दरबन्दी भने एक सय ५० शय्याको मात्र रहेको छ । पौडेलका अनुसार दैनिक एक जना चिकित्सकले ३० जना बिरामी हेर्नुपर्नेमा ५० देखि एक सय जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता रहेको छ । उनले भने, “विश्व स्वास्थ्य सङ्गठनका अनुसार एक जना चिकित्सकले ३० जना बिरामी हेर्ने हो तर यो सम्भव छैन ।”
भरतपुर अस्पतालमा बिरामीको विश्वास बढ्दै गएकाले चाप दैनिक बढेको उनले बताए । कोभिड सङ्क्रमणको समयमा भन्दा पछिल्ला वर्षमा बिरामीको चाप बढ्दै गएको पौडेलले बताए । उनका अनुसार स्वास्थ्य बीमा कार्यक्रममा अस्पतालमा लागू हुनु, अस्पतालप्रति विश्वास बढ्दै जानु र अस्पतालमा दिइने सेवालाई विशिष्टकृत गर्दै जाँदा बिरामीको चाप बढ्दै गएको हो ।
अस्पताका सूचना अधिकारी गोपाल पौडेलका अनुसार अस्पतालमा शय्या बढेको, सघन उपचारकक्ष थप गर्नु, बाल सघन उपचारकक्ष (पिआइसीयू) सञ्चालनमा आउनु, अस्पतालका भौतिक संरचनासँगै अत्याधुनिक प्रविधिबाट उपचार हुनुले अस्पतालप्रति बिरामीको आकर्षण बढेको हो । बिरामीको चाप बढेसँगै अहिले अस्पतालमा मिर्गौलाको डायलायसिस उपकरण थप गरी २० वटा सञ्चालन गर्ने तयारीमा अस्पताल रहेको छ । छवटा थप गर्न लागिएको हो ।
आधुनिक शल्यक्रिया कक्ष, आकस्मिक कक्षका लागि छुट्टै टिकट काउन्टर, विशेषज्ञ सेवाका लागि जिओपिडी, बहिरंग सेवाको टिकट काट्ने काउन्टर थपसँगै उपचार समय पनि थप गरिनु, विशेषज्ञ सेवा नियमित हुनुले अस्पतालमा बिरामीको चाप बढेको उनले बताए । बिरामीको चापअनुसारको व्यवस्थापनका लागि अस्पताल प्रशासन लागिपरेको उनको भनाइ छ ।



