इच्छाकामनाको स्याङ्दी खोलामा जनश्रमदानबाट पुल निर्माणको काम हुँदै

images
  • 211
    SHARES
  • आषाढ १६, २०८० शनिबार
    इच्छाकामनाको स्याङ्दी खोलामा जनश्रमदानबाट पुल निर्माणको काम हुँदै
    images
    चितवन, असार १६
     
    चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित स्याङ्दी खोलामा जनश्रमदानबाट पुल निर्माण भइरहेको छ । जनप्रतिनिधि र केही स्थानीयले मात्र सुरु गरेको जनश्रमदान अभियानमा अहिले दैनिक श्रमदान गर्नेको सङ्ख्या बढ्दै गएको हो ।
     
    नियमित श्रमदानमा जुटिरहेका स्थानीय विक्रम मगरका अनुसार दैनिक एक सय ५० जनासम्म श्रमदानका लागि आउने गरेका  छन् । उहाँले भन्नुभयो, “पुल निर्माणका लागि वडा नं ७ बाट मात्रै नभई अन्य वडाबाट पनि श्रमदान गर्नेको सङ्ख्या दैनिक बढ्दै गएको छ ।” श्रमदानमा आउनेलाई स्थानीयले खाना र खाजाको व्यवस्थासमेत गरिदिएको उहाँले  बताउनुभयो ।
     
    श्रमदान गर्नेहरुको हरेक दिन उत्साहजनक सहभागिता भइरहेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । असार ९ गतेदेखि निर्माण सुरु गरिएको उक्त पुलको काम असारभित्र सम्पन्न गर्ने गरी भइरहेको उहाँले जानकारी दिनुभयो । पुल निर्माणका लागि पालिकाले आवश्यक सामग्री तथा प्राविधिकका लागि बजेट व्यवस्था गराएको अध्यक्ष गुरुङले बताउनुभयो ।
     
    पुल निर्माण सम्पन्न नहुँदासम्म हरिपुर खोलामा राखिएको बेली ब्रिजको संरचना प्रयोग गर्ने गरी स्याङ्दी खोलामा पुल निर्माण थालिएको वडाध्यक्ष बमबहादुर रानाले बताउनुभयो । पुल निर्माणपछि गर्दास र स्याङ्दीका बासिन्दा लाभान्वित हुनेछन् ।
     
    हरेक वर्ष स्याङ्दी खोलामा आउने बाढीका कारण स्थानीयले आवागमनमा सास्ती खेप्दै आउनुपरेको थियो । गाउँपालिका अध्यक्ष, वडाध्यक्षसहित जनप्रतिनिधि तथा स्थानीयले  दैनिक श्रमदान गर्दै आएका  छन् । रासस

     

     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend