कनकाई नगरपालिकामा सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थ बेच्नेलाई ५० हजार रुपैयाँ जरिबाना

images
  • 431
    SHARES
  • आषाढ ३१, २०८० आइतबार
    कनकाई नगरपालिकामा सार्वजनिक क्षेत्रमा  सुर्तीजन्य पदार्थ बेच्नेलाई ५० हजार रुपैयाँ जरिबाना
    images

    झापाको कनकाई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

    नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरी सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो । सार्वजनिक ठाउँमा सुर्तीजन्य पदार्थ बिक्री गरे ५० हजार रुपैयाँसम्म जरिबाना गराइने नगरपालिकाले जनाएकाे छ । 

    नगरसभाबाटै यस्ताे निर्णय गरिएको मेयर राजेन्द्रकुमार पोखरेलले बताउनु भयाे । 'मानव स्वास्थ्य र वातावरणीय हिसाबले धेरै हानिकारक देखिएकाले सुर्तीजन्य पदार्थमा प्रतिबन्ध गर्ने गरी काम थालेका हौँ', उहाँले भन्नुभयो, 'भोलिदेखि निर्णय कार्यान्वयनको चरणमा जान्छ, सबैलाई नगरपालिकाको निर्णय मान्न आग्रह गर्दछु ।'

    नगरपालिकालाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा आफूहरु लागेको उहाँले बताउनु भयाे । चुरोट, खैनी, गुट्खालगायतका सुर्तीजन्य पदार्थका कारण नगर कुरुप बनेको पोखरेलले बताउनु भयाे । 'बाटोमा यत्रतत्र गुट्खाको खोल देखिन्छ', उहाँले भन्नुभयो, 'यसले नगरको सुन्दरतामा असर पर्नुका साथै फोहर व्यवस्थापनसमेत चुनौती थपिएको छ ।'

    कसैले अटेर वा बेवास्ता गरे नगरको ऐनबमोजिम बिक्रीवितरणकर्तालाई अधिकतम ५० हजार रुपैयाँ जरिबाना गरिने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

    यस्तै, प्रयोगकर्ताको हकमा भने अधिकतम पाँच हजार रुपैयाँ जरिबाना तोकिएको छ । सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने विषयमा नगरका राजनीतिक दलले साथ दिएका छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend