नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले एक सय किलो अवैध सुन बरामद भएको प्रकरणमा सत्तारुढ दलले अर्को दललाई आक्षेप लगाउन खोजेको टिप्पणी गरेका छन् ।
‘सुन प्रकरणमा सत्तामा रहेका विशेषगरी माओवादी पक्षधरहरुबाट अरुको गालामा बियाँ टाँस्ने धन्दा जारी छ,’ उनले फेसबुकमा लेखेका छन् ।
शासकीय जिम्मेवारी र दायित्व अरुले गरेको राम्रो कामको जस लिन होडबाजी गर्ने कमजोरीको हकमा टकटकिने नभएको उनको भनाइ छ ।
उनी थप प्रश्न गर्छन, ‘…एअरपोर्टको प्रशासन, सुरक्षा निकाय र भंसार प्रशासन कहाँ कसको संलग्नता छ र क कसको संरक्षण छ ?’ यो प्रश्न पनि नागरिक चासोको विषय बनाउन आवश्यक रहेको उनको भनाइ छ ।
‘राष्ट्रको प्रतिष्ठामा नै आँच आउने यस्तो विषयमा गम्भीर बनौं । आशंकित सबैलाई छानविनको दायरामा ल्याउन विलम्व नगरौ,’ महासचिव पोखरेलको माग छ ।



