साउन ६-
उद्योग सङ्घले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नेगरी आजदेखि शनिबारे मेला सञ्चालन गरेको छ । मेलाको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । स्थानीय कृषिजन्य, रैथाने, मौलिक र बजारीकरण गर्न आवश्यक उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला गरिएको हो । चितवन प्रदर्शनी केन्द्र परिसरमा मेलाको आयोजना गरिएको छ । अबदेखि हरेक शनिबार बिहान ६ देखि ११ बजेसम्म सोही ठाउँमा शनिबारे मेला आयोजना गरिने सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्थानीय तथा रैथाने कृषिजन्य उत्पादन, खाद्यान्न तथा परिकारहरुलाई समेत उत्पादन र बजारीकरणका माध्यमबाट उद्यमशीलतामा जोड्न र स्वरोजगार बनाउन मेलाको आयोजना गरिएको हो ।” मेलामा स्थानीय तहको समन्वयमा स्थानीय, रैथाने कृषिसँग सम्बन्धित उत्पादनका प्रदर्शनी कक्ष रहेको उहाँले बताउनुभयो । पहिलो दिन ४० कक्ष रहेका छन् ।
मेलास्थल आसपासमा निजी तथा सरकारी संस्थामा कार्यरत कर्मचारी, स्थानीय टोल तथा छिमेकी पालिकाका जनता मेलाको लक्षित समुदाय रहेको कँडेलले बताउनुभयो ।
मेलामा राखिने विशेष परिकार तथा उत्पादन जिल्ला बाहिर पठाउनका लागिसमेत बिक्री गरिने लक्ष्य लिइएको उहाँले बताउनुभयो । उत्पादक र उपभोक्तालाई एउटै छानामुनि प्रत्यक्ष भेटघाट गराउने गरी आयोजना गर्न लागिएको यस मेलामा प्रत्येक दिन पाँच हजार हाराहारीले अनुगमन गर्ने लक्ष्य लिएको सङ्घले जनाएको छ ।
मेलालाई ‘फार्मदेखि किचनसम्म’ अवधारणाअनुसार उत्पादक र उपभोक्ताको मागबमोजिम आवश्यकताअनुसार परिस्कृत गर्दै लगिने कँडेलले बताउनुभयो । मेलाको उद्घाटनपछि महानगर प्रमुख दाहालले यस्ता मेलाले कृषि र उद्योगको प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । स्टलको निरीक्षण गर्दै उहाँले कृषिजन्य र साना उद्योग प्रवद्र्धनका लागि महानगर सकारात्मक रहेको जनाउँदै गुणस्तरीय उत्पादनमा जोड दिन आग्रह गर्नुभयो ।



