साउन ९
भरतपुर अस्पतालमा सिटी स्क्यान सेवा बन्द भएको छ । अस्पतालले एक सूचना जारी गर्दै मेसिनको सफ्टवेयर र हार्डवेयरमा समस्या आएकाले केही दिनका लागि सेवा बन्द हुने जानकारी गराएको छ ।
मेसिनमा पटकपटक समस्या आएपछि अस्पतालले सिटीस्क्यान सप्लाई गर्ने कम्पनीलाई नै बर्षको ५० लाख दिने गरेर मर्मत सम्भारसम्बन्धी सम्झौता गरेको थियो । सिटी स्क्यान मेसिनका नाममा अस्पताललाई बर्षोसम्म कम्पनीले ‘दुहुनो गाई’ बनाएको भन्दै अस्पताल भित्रै आलोचनासमेत हुँदै आएको छ ।
अस्पतालमा सिटी स्क्यान गरेको रकम तीन हजारदेखि ९ हजारसम्म तिर्नुपर्छ, अन्य निजीमा ४ हजारदेखि १३ हजारसम्म तिर्नुपर्छ । यसअघि भरतपुर अस्पतालमा सिटीस्क्यान गर्दै आएका बिरामी अब निजी अस्पताल र प्रयोगशालामा जानुपर्ने भएको छ ।




