साउन १७-
साहुले गरेको बदमासीको बोझ आफ्नो टाउकोमा आइलागेपछि जेल जीवन बिताइरहेका सुनसरी इटहरीका लालबहादुर विश्वकर्मा बुधबार जेलमुक्त भएका छन्। उनले मंगलबार ठगी तथा बैंकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगरबाट सफाइ पाएका थिए। मंगलबार उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले सुनसरी जिल्ला अदालतको आदेश उल्ट्याउँदै सफाइ दिएपछि उनी रिहा भएका हुन्।
बुधबार उनी जेलबाहिर निस्कँदा परिवार, आफन्जन तथा शुभचिन्तकहरूले स्वागत गर्दै खुसीयाली बनाएका थिए। सुनसरीको इटहरी तरहरास्थित सिंहदेवी ज्वेलर्समा कामदारको रूपमा कार्यरत लालबहादुरलाई मालिक दीपक परियारले गरेको ठगीमा जिल्ला अदालत सुनसरीले ३ करोडभन्दा बढी रकम बिगो भराउन आदेश दिएको थियो। निर्दोष रहेपनि उनलाई ३ वर्षको जेल सजाय तोकिएको थियो।



