गोरखा लाप्राकका युक्त तमूद्वारा १२ दिनमा हिमाल आरोहण

images
  • 132
    SHARES
  • श्रावण १८, २०८० बिहीबार
    गोरखा लाप्राकका युक्त तमूद्वारा १२ दिनमा हिमाल आरोहण
    images

    केशव तमू, गोरखा 

    धार्चे गाउँपालिका–४ लाप्राकका पुरबहादुर तमू(युक्त)ले १२ दिनमा आठ हजार मिटर उचाइका चार हिमालको सफल आरोहण गरेका छन् । आरोहीहरुको गाउँ भनेर चिनिने लाप्राकका तमूले यो सिजनमा पाकिस्तानमा रहेको आठ हजार मिटरका चारवटा हिमाल आरोहण गरेका हुन् ।

    गत जुलाई १७ मा ८ हजार ३५ मिटरको गेशब्रुम दुई, जुलाई २१ मा ८ हजार ८० मिरटको गेशब्रुम एक र जुलाई २५ मा ८ हजार ६८ मिटरको ब्रोड पिक हिमाल आरोहण गरेका हुन् । त्यस्तै जुलाई २८ मा विश्वकै दोस्रो अग्लो ८ हजार ६११ मिटरको अल्लो माउण्ड केटु हिमाल आरोहण गरेको तमूले जानकारी दिए । योसँगै गुरुङ समुदायबाट माउण्ट केटु हिमाल दोस्रो पटक आरोहण गर्ने उनी पहिलो व्यक्ति बनेका छन् ।

    खराब मौसमका बाबजुद पनि सफलतापूर्वक हिमाल आरोहण गर्न सफल भएको उनले बताए । युक्रेनको पर्यटकलाई हिमाल आरोहण गराइदिने क्रममा इलिट एक्सपेड कम्पनीमार्फत पथप्रदर्शकका रुपमा गुरुङ एकै सिजनमा आठ हजार मिटरका चारवटा हिमाल आरोहण गर्न सफल भएका हुन् ।

    नेपाल फर्किए पछि इन्टरनेशनल माउण्टेन गाइडका लागि तयारी थाल्ने उनको योजना छ । मनास्लु, धौलागिरी र आमदव्लम हिमाल चढ्ने समेत उनको तयारी छ । गुरुङले हालसम्म विश्वको सर्वाेच्च शिखर सगरमाथा सात पटकसम्म आरोहण गरिसकेका छन् । सन् २०११ मा २२ बर्षको उमेरमा पहिलो पटक सगरमाथा आरोहण गरेका उनी तमू समुदायबाट सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति समेत हुन् ।

    उनले गोरखास्थित ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु चारपटक आरोहण गरिसकेका छन् । त्यस्तै पाकिस्तानस्थित माउण्ड केटु र ब्रोडपिक दुई/दुई पटक आरोहण गरिसकेका छन् । अन्य हिमाल भने एक÷एक पटक मात्र आरोहण गरेको उनले बताए । हालसम्म ८ हजार मिटर अग्लो १० वटा हिमाल आरोहण गरिसकेको उनले जानकारी दिए । अव नेपालको धौलागिरी, चोयु, पाकिस्तानको नांगा पर्वत र चिनमा रहेको सिसापाङ हिमाल आरोहण गर्न बाँकी रहेको उनले बताए । पर्वतारोहण क्षेत्रमा आफ्नो भविष्य खोज्दै उनी १७ बर्षको उमेरदेखि यस क्षेत्रमा लागेका थिए ।

    आरोही तमूले केही महिनाअघि मात्र तीन महिनाको अवधिमा आठहजार मिटरभन्दा अग्ला पाँचवटा हिमाल आरोहण गरेका थिए । वैशाख २ मा अन्नपूर्ण हिमाल(८,०९१ मि.), जेठ २ मा सगरमाथा हिमाल (८,८४८ मि.) र जेठ ३ मा लोत्से हिमाल (८,५१६ मि.) को सफल आरोहण गरेका थिए । त्यस्तै जेठ ९ मा मकालु हिमाल (८,४८१ मि.) र जेठ १८ मा कञ्चनजङ्गा हिमाल (८,५८६ मि.) को आरोहण पनि गरेका थिए ।

    सन्दीप तमू

    त्यस्तै लाप्राकका सन्दीप तमूले पनि साउन १२ मा माउण्ट केटुको सफल आरोहण गरेका छन् । यस अघि सगरमाथा आरोहण गरिसकेको तमूले पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो माउण्ट केटु आरोहण गरेका हुन् । उनले सगरमाथा ल्होत्से हिमाल, अमादब्लम, हिमलुङलगायतका ६ वटा हिमाल आरोहण गरिसकेका छन् ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend