प्रतिमा खत्री तनहुँ,
साउनको प्रत्येक सोमबार लाग्ने बोलबम मेला नेपालकै पवित्र तीर्थस्थल देवघाटधामलगायत जिल्लाका शिवालयहरुमा बिहानैदेखि सुरु भएको छ। मुख्यगरी आज साउन महिनाको अन्तिम सोमबार भएको हुँदा पनि देवघाटमा भक्तजनहरुको घुँइचो लागेको छ।दिनमा ब्रत बसेर श्रद्धालु भक्तजनहरुले स्नान गरी पवित्र जल र बेलपत्र चढाई शिवको आराधना गरेर बोलबम मनाउँछन्।

अन्तिम सोमबार भएको हुँदा पनि बिहान ४ बजेदेखि नै स्नान गर्न भक्तजनहरु देवघाटधाम आइपुगेको देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापामगरले बताए । अध्यक्ष मगरका अनुसार आइतबार साँझ आएका भक्तजनहरुले बिहान ४ बजे स्नान गरी शिवको पूजा गरी जल लिएर गएको र बिहान आएका भक्तजनहरुको अहिले देवघाटमा घुइँचो भएको बताए । साथै महिला तथा पुरुष व्रतालुहरु पहेंलो वस्त्र धारण गरी खाली खुट्टा स्नानका लागि देवघाट आएका छन् भने तनहुँ,चितवन र नवलपरासीको संगमस्थलमा पर्ने देवघाटधाममा नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत भक्तजनहरु मेला भर्न आउने हुँदा शान्तिसुरक्षाका लागि तीन वटै जिल्लाका निकाय संग समन्वय गरेको अध्यक्ष मगरले बताए ।

देवघाट गाउँपालिकाका प्रवक्ता एवं ५ वडा अध्यक्ष पुर्ण बहादुर कुँवरले निरन्तर अविरल परिरहेको वर्षाले पानीको वाहाव बढेको हुँदा भक्तजनहरु स्नान गर्ने स्थानमा नेपाल प्रहरी,नगर प्रहरी लगायत जनप्रतिनिधिहरु स्वयंम उपस्थित भइ सुरक्षा ब्यबस्थापनलाई मजबुत बनाईएको बताए। साथै देवघाटमा आज सोमबार करिब ३० हजार तिर्थालूभक्तजन भित्रीएको कुँवरले बताए। मेलामा भरतपुरका रमेश अर्यालले हरेक वर्ष देवघाटधाम आउने बताउदै अन्तिम सोमबार भएको हुँदा पनि भक्तजनको भिड अन्य सोमबार भन्दा अलि बढी भिड भएको उनले बताएका थिए भने स्नान गर्ने ठाउँमा प्रहरीको सुरक्षा वयवस्थापन राम्रो रहेको बताए। तनहुँको देवघाटसँगै चितवनको महाकालेश्वर मन्दिर, गैंडाकोटको गोपेश्वर मन्दिर, माडी, रत्ननगरलगायत क्षेत्रका शिवालयहरुमा पनि सोमबारे मेला अर्थात् बोलबम मेलामा भक्तजनहरु पूजाआजामा व्यस्त छन्। यो मेलालाई बोल ओम मेलाको रुपमा समेत मनाइन्छ।

देवघाटमा अहिले धूम्रपान र मध्यपान निशेष गरिएको छ। मुक्तिनाथबाट बगेर आएको कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आएको त्रिशूलीको सङ्गम बेणी देवघाटको पवित्र जल र वेलपत्रले शिवको पूजा आराधना गरे आफ्नो मनोकामना पूरा भई सुख शान्ति मिल्ने,परिवारमा शान्ति मिल्ने र चर्मरोग निको हुने जनविस्वास रही आएको छ। साउनको पाँचैवटा सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गरेर वेलपत्र तथा गंगाजल शिवमन्दिरमा चढाउने गरिन्छ। यसरी चढाउँदा विवाहिता महिलाहरुले आफ्नो श्रीमानको दीर्घायु र परिवारको सुख समृद्धिको कामना गर्दछन् भने अविवाहिता महिलाहरुले असल श्रीमानको कामना गर्दछन्। यो समयमा महिलाहरु हरियो कपडा र चुरा तथा मेहन्दीमा सजिने गर्दछन्।




