साउन ३२
चितवनमा डेंगी संक्रमण निरन्तररुपमा बढ्दै गइरहेको छ । साउन महिनाको तथ्यांकलाई हेर्दा आज ३२ गतेसम्म ९६ जना संक्रमित भएसँगै हरेक दिन डेँगुको संक्रमण बढ्दै गएको हो ।
नेपालमा सन् २०२२ यता नेपालमा डेंगी संक्रमण शून्यमा झरेको छैन । हिउँदका पाँच महिना फाट्टफुट्ट देखिएको संक्रमण जुनयता निरन्तर उकालो लागिरेहको छ ।
जुलाई १ देखि अगष्ट १६ सम्म डेढ महिनामा मात्रै १२ हजार ५८३ जना संक्रमित भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक छ ।
अगष्ट १ देखि १६ सम्म ६ हजार ५१४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै योवर्ष डेंगी संक्रमितको संख्या १४ हजार ३५७ पुगेको छ । जुनयता मात्रै डेंगीका कारण १२ जनाको मृत्यु भएको छ ।
७५ जिल्लामा फैलिएको डेंगीबाट सबेभन्दा धेरै कोसी र वाग्मती प्रदेश प्रभावित भएका छन् । कोसीमा १० हजार ८१३ र वाग्मतीमा दुई हजार ९ जना संक्रमित भएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा गरी ४२० जना संक्रममित भएका छन् । १२ जिल्लामा संक्रमितको संख्या डेढसयभन्दा माथि छ ।
यो वर्ष नेपालमा डेंगीका चारवटै सेरोटाइप (डेंगी १, २, ३, ४) देखिएको इडीसीडीका निर्देशक डा. रुद्र मरासिनी बताउँछन् । विश्वभर देखिएकामध्ये अधिकांश देशमा डेंगीका चारवटा सेरोटाइप (भाइरसको प्रकृतिका आधारमा गरिएको वर्गीकरण) देखिएका छन् ।




