भदौं २
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देशको अवस्था हेर्दा आँसु आउने र दिक्क लाग्ने बताएका छन् ।नयाँ बानेश्वरस्थित वरिष्ठ अधिवक्ता श्रीहरी अर्यालको निवासमा बुद्धिजीवीहरूसँग भएको नियमित अनौपचारिक छलफलका क्रममा शनिबार कोइरालाले सो कुरा बताएका हुन् ।
छलफलका क्रममा कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करीको अखडा बनिसकेकाले अन्तर्राष्ट्रिय समुदाय सामु देशको साख गिरेको बताए । छलफलमा कोइरालाले अब देश बन्दैन भनेर बुद्धिजीवीहरूले आस मारेको भएर पनि यस्तो अवस्था आएको बताए ।
कोइरालाले राजनीतिक दल र सरकारलाई खबरदारी गरिदिन बुद्धिजीवीहरूसँग आग्रह समेत गरे । कार्यक्रममा सहभागीहरुले महंगी, भ्रष्टाचार र दण्डहीनताले सीमा नाघेको, भूराजनीति चौपटमा परेको र सरकारले एकपछि अर्को अलोकप्रिय निर्णयहरू गर्ने गरेकाले कांग्रेस यो सरकारमा बसिरहन नहुने सुझाव दिए ।



