१५ भदौ,
सिटिजन लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलेको छ । कम्पनीले १५ भदौ शुक्रबारदेखि प्रिमियम मूल्यमा आईपीओ निष्कासन खुला गरेको हो ।
कम्पनीले सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कूल २४४ रुपैयाँमा सेयर निष्कासन गर्न लागेको हो ।
त्यस्तै, सार्वजनिक निष्कासनका लागि स्वीकृति पाएको सेयरको १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि र ५ लाख ६२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले इन्स्योरेन्सलाई ‘इक्राएनपी इस्यूआर रेटिङ त्रिपल बी’ प्रदान गरेको छ । यसले इन्स्योरेन्सको वित्तीय दायित्व समयमा नै पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।
इन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन् ।



