भदौ १६
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको हुँदा बदलिएको कांग्रेसले मात्र देश बदल्ने सामथ्र्य राख्ने बताउनुभएको छ । नेपाली कांग्रेस मेचीनगर समितिको आज धुलाबारीमा आयोजित नगर सम्मेलनमा उहाँले सबैजसो राजनीतिक दलको नेतृत्वले गलत क्रियाकलाप गर्दा समाजले आत्मविश्वास गुमाएको जनाउँदै कांग्रेसले अब जरैदेखि रुपान्तरित भएर गुमेको आत्मविश्वास फर्काउनुपर्ने बताउनुभयो ।
आफु वरिपरि डुलिरहने र नजिकमा बसेर चाकरी गर्नेलाई मात्रै चुनावमा उम्मेदवारको टिकट दिने पुरानो प्रणालीले कांग्रेसका सदस्य तथा मतदातामा निराशा बढेको महामन्त्री थापाले आरोप थियो । “माथिबाट टिकट पठाएर उम्मेदवार बनाउने प्रथा अब बन्द हुनुपर्छ”, उहाँले भन्नुभयो, “पार्टीभित्र सबै क्रियाशील सदस्य भएकाले कोही ठूलो र कोही सानो भन्ने हुँदैन ।”
महामन्त्री थापाले २३ प्रतिशतभन्दा बढी युवा जनशक्ति रहेको स्वर्णिम कालमा मुलुकको समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ आशा जगाउने कुनै कार्य सरकारमा पुगेकाबाट नभएको गुनासो गर्नुभयो । पुराना र नयाँ राजनीतिक दलहरु मुलुकको भविष्य तथा जनताको समस्यामा चिन्तित हुन छाडेर २०८४ मा हुने चुनाव कसरी जित्ने भनेर बहकिन थालेको टिप्पणी गर्नुभयो । रासस



