मुग्लिन
इच्छाकामना गाउँपालिकाभित्र रहेका पुराना तथा नयाँ प्रतिभाको प्रचारप्रसार तथा संरक्षणका लागि स्थानीय तहअनुार ‘इच्छाकामना त्रिवेणी कला केन्द्र’ नामक संस्था गठन भएको छ। करिब दुई हप्ताअघि मात्रै तदर्थ समिति गठन गरेको कला केन्द्रले शनिबार काजीमान थापामगरको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति गठन गरेर पदभारसमेत ग्रहण गरिसकेको छ।
शनिबार बागमती प्रदेश सभा सदस्य कृष्णप्रसाद सिलवाल, इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङ, उपाध्यक्ष माया सिलवाललगायतको उपस्थितिमा कला केन्द्रका पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरेका हुन्। उनीहरुलाई इच्छाकामना साहित्य प्रवाहका अध्यक्ष एकराज शर्माले सपथग्रहण गराएका थिए।
कला केन्द्रले इच्छाकामनाभित्र रहेका कला, साहित्य र संस्कृति संरक्षणसँगै स्थानीय कलाकारलाई विभिन्न खालका अवसर प्रदान गर्दै जाने कला केन्द्रका अध्यक्ष काजीमान थापामगरले जानकारी दिए। ‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन दिलाउन पनि यो संस्थाले विशेष भूमिका खेल्ने छ,’ उनले भने। सोही अवसरमा इच्छाकामनाका नयाँ तथा पुराना स्रष्टाहरुमार्फत विभिन्न खालका गीत संगीत प्रस्तुत गरी मनोरञ्जन प्रदान गरिएको कला केन्द्रका सचिव पृथ्वी गुरूङले जानकारी दिए। उनका अनुसार लोप हुन लागेका बाजाको समेत संरक्षण गर्ने उद्देश्यले प्रतिभा प्रस्तुत गरिएको थियो।
बिरामीलाई आर्थिक सहयोग मुग्लिनमा भएको सोही कार्यक्रमको अवसर पारेर कला केन्द्रमार्फत रक्तअल्पताका बिरामीलाई आर्थिक सहयोग गरेको छ। काठमाडौँस्थित वीर अस्पतालमा उपचाररत इच्छाकामना–२ का १८ वर्षीय मानबहादुर गुरूङको उपचारका लागि बुबा इन्द्रबहादुरलाई नगद १० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको केन्द्रका सचिव गुरूङले जानकारी दिए।






