काठमाडौँ, भदौ २०
नेकपा (एमाले) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसार गर्नेविरुद्ध एकजुट हुन सबैमा आह्वान गर्नुभएको छ । आज ‘मानव बेचबिखनविरुद्धको १७औँ राष्ट्रिय दिवस’का अवसरमा उहाँले दिनुभएको सन्देशमा मानव सभ्यताको कलङ्कका रूपमा रहेको मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सचेतना र सक्रियता आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।
मानव बेचबिखन कार्यका संलग्नलाई कानुनको दायरामा ल्याएर दण्डित गर्ने र पीडित/प्रभावितको उद्धार, स्वदेश फिर्ती, पुनः स्थापना, पुनः मिलन र राहत तथा क्षतिपूर्ति प्रदान गर्र्ने काम प्रभावकारी हुन नसकेको उहाँले बताउनुभयो । विगतमा खुला सिमानाका कारण छिमेकी देश भारतमा यौन शोषणका लागि मानव बेचबिखन हुने गरेकामा केही वर्षयता नेपालको आन्तरिक बजार (मनोरञ्जन क्षेत्र) र वैदेशिक रोजगारीका लागि हुने श्रम आप्रवासनका क्रममा पनि मानव बेचबिखन तथा ओसारपसारका घटना हुने गरेको अध्यक्ष ओलीको सन्देशमा उल्लेख छ । रासस



