जनप्रतिनिधि,नदीजन्य पदार्थको अवैध उत्खनन रोक्दै

images
  • 154
    SHARES
  • जेठ १९, २०७९ बिहीबार
    जनप्रतिनिधि,नदीजन्य पदार्थको अवैध उत्खनन रोक्दै
    images

    बाँके । 

    बाँकेको राप्तीसोनारी गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले राप्ती नदीमा अवैध रुपमा भइरहेको नदीजन्य पदार्थको उत्खनन रोक्न चासो देखाएका छन् ।

    abaidh-utkhanan.jpg

    गाउँपालिकाले चालू आर्थिक वर्ष २०७८/७९ मा यहाँका नदी खोलामा ठेक्का लगाउन नसक्दा अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन गरी चोरी निकासी हुँदै आएको छ ।

     

    नदीजन्य पदार्थको अवैध रुपमा उत्खनन गरी चोरी निकासी बढेको स्थानीयवासीको गुनासोपछि कार्यपालिका बैठकबाटै अवैध उत्खनन रोक्न कडाइ गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष तप्त पौडेलले जानकारी दिए ।

    उनलका अनुसार गाउँपालिकाको निर्णय पश्चात अवैध उत्खननमा प्रयोग गरिएका तीन वटा एक्साभेटर ६ नं वडाको फत्तेपुरस्थित राप्ती नदीको घाटबाट नियन्त्रणमा लिइएको छ ।

    नियन्त्रणमा लिइएका एक्साभेटर अस्थायी प्रहरी पोष्ट फत्तेपुरमा राखिएको छ । नदीमा अवैध रुपमा उत्खनन भइरहेको सूचनाको आधारमा वडाध्यक्ष लवराज खरेलको नेतृत्वमा मङ्गलवार दुई र वुधवार गाउँपालिकाको टोलीले एउटा एक्साभेटर नियन्त्रणमा लिएको थियो ।

    नियन्त्रणमा लिइएका एक्साभेटरलाई नियमानुसार जरिवाना गराएर छाड्ने प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले बताए । उनले अनुसार राप्ती नदीको नदीजन्य पदार्थको अवैध उत्खनन रोकेर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० बाट नदी खोलामा ठेक्का लगाउने तयारी गरेको छ ।

    गाउँपालिका अध्यक्ष पौडेलले पालिकाअन्तर्गतका नदी खोलामा अवैध उत्खनन रोक्न कडाइका साथ लागिएको बताए । गाउँपालिकाको मुख्य आन्तरिक स्रोत नै नदीजन्य सामग्री भएकोले अवैध चोरी निकासी रोकेर राजस्वमा वृद्धि गर्नतर्फ आफूले ध्यान दिएको उनको भनाइ छ ।

    गाउँ कार्यपालिका बैठकले गाउँपालिका क्षेत्रमा नदीजन्य पदार्थको घाटगद्दीको स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ । राप्तीसोनारी गाउँपालिकाले खैरी खोला, मुगुवा खोला, टिकुलीपुरघाट सिधनियाघाट, बग्दैलाघाट, लालपुरघाट, आलिनगर खल्लाटपरीघाट, जलालाघाट, परुवा खोला, झिझरी खोलालाई निषेधित क्षेत्र कायम गरेको छ ।

    कार्यपालिकाले आर्थिक वर्ष २०७९/८० मा समयमै सार्वजनिक खरिद प्रक्रियामा गई नदीजन्य वस्तुको आवश्यकताका आधारमा तोकिएको मात्र उत्खनन गर्ने गराउने निर्णय गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend