रवि लामिछाने: श्रम स्वीकृति नलिई विदेश गएकाले पनि मतदान गर्न पाउनुपर्छ

images
  • 210
    SHARES
  • कार्तिक १५, २०८० बुधबार
    रवि लामिछाने: श्रम स्वीकृति नलिई विदेश गएकाले पनि मतदान गर्न पाउनुपर्छ
    images

    १५ कात्तिक, काठमाडौं 

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बिना श्रम स्वीकृति विदेश गएकाले पनि विदेशबाट मतदान गर्न पाउनुपर्ने बताएका छन् ।

    बिना श्रम स्वीकृति विदेश जानु धेरै नेपालीको बाध्यता भएकाले श्रम स्वीकृति लिएकालाई मात्रै मताधिकार दिने प्रस्तावमा पुनबिर्चार गर्न उनको आग्रह छ ।

    बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा निर्वाचन आयोगको कामकारबाहीका विषयमा छलफल थियो ।

    प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले विदेशमा रहेका नेपालीहरुको मतदाता संकलनको कार्य सुरु गर्न लागिएको र विदेशबाट मतदान गर्ने व्यवस्थाका लागि कानुन बनाउने प्रक्रिया अगाडि बढेको बताएका थिए ।

    त्यसपछिको छलफलमा भाग लिँदै रास्वपा सभापति लामिछानेले गैरकानुनी रुपमा बसिरहेकाहरुलाई पनि मताधिकार दिइनुपर्ने बताएका हुन् । ‘श्रम स्वीकृत नलिएर विदेशमा बसेको भएपनि ती नेपाली हुन् । उनीहरुसँग नेपाली नागरिकता हुन्छ । त्यसकारण इलिगल गएकाहरुले पनि मतदान गर्न पाउनुपर्छ’, सभापति लामिछानेले भने ।

    निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न सक्ने गरी एकीकृत निर्वाचन कानुन निर्माणका लागि मस्यौदा गृहमन्त्रालयमा पेश गरेको छ ।

    एक वर्षभित्र उक्त मस्यौदा कानुनमा रुपान्तरित हुन सके विदेशबाट मतदान गर्न पाउने व्यवस्था कार्यान्वयनमा लैजान सकिने प्रमुख आयुक्त थपलियाको भनाइ छ ।

    समितिको छलफलमा भाग लिने अधिकांश सांसदले विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिने विषय सकारात्मक भएको बताएका छन् । तर, त्यसको निश्पक्षताको सन्दर्भमा प्रष्ट हुनुपर्ने र प्रश्न नउठ्ने गरी काम हुनुपर्नेमा सांसदहरुको जोड छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend