५ मंसिर, काठमाडौं
नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आईडिया जार डिजिटल कम्पनीले टिकटकजस्तै ‘रमाइलो’ एप सार्वजनिक गरेको छ । एपमा भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र सेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा समेत रहेको कम्पनीले जनाएको छ ।
यस एपमा भिडियो निर्माणका क्रममा उच्छृङ्खल गतिविधि भएमा वा गैरकानुनी तथा अमर्यादित हर्कत भएमा त्यसलाई कानुनी दायरामा ल्याउन सरकारलाई सहयोग समेत गर्ने प्रतिबद्धता कम्पनीले बनाएको छ । गलत नियतका सामग्री प्रयोगकर्ताले अपलोड गरेमा एपको ’कम्युनिटी गाइडलाइन्स’ अन्तर्गत भिडियो हटाउने, एकाउन्ट सस्पेन्ड गर्नेदेखि एकाउन्ट नै सदाको लागि बन्द गराउने समेत कम्पनीले जनाएको छ ।
नेपाली प्रयोगकर्ताहरूको डेटा नेपालमा नै सुरक्षित हुने हुँदा प्रयोगकर्ता थप सुरक्षित र ढुक्क भई सामाजिक सञ्जालमा रमाउन सक्ने कम्पनीको दाबी छ । रमाइलो एपमा १३ वर्ष उमेरभन्दा माथिका नागरिकले पहुँच राख्न सक्ने बताइएको छ । यस एपलाई हाल गुगल प्ले स्टोरमा उपलब्ध गराइएको छ । केही दिनमा आइफोन प्रयोगकर्ताहरूले एप स्टोरबाट डाउनलोड गरी चलाउन सक्ने कम्पनीले जनाएको छ ।



